
काठमाडौँ । अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले एआई प्रविधिमार्फत खानी तथा उद्योग क्षेत्रमा सहायक भूमिका खेल्ने संचार उपकरण विकास गरेका नेपाली विद्यार्थी श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’ प्रदान गरेको छ।
विश्वविद्यालयले आफ्नो रजत जयन्तीका अवसरमा आयोजना गरिएको विशेष समारोहमा काठमाडौँका २२ वर्षीय स्नातक तहका विद्यार्थी श्रेष्ठलाई प्रतिष्ठित अवार्डबाट सम्मान गरेको हो।
श्रेष्ठसहित उनकी टोलीले खानी तथा भारी उद्योगका लागि उपयोगी ‘एआई मोड्युल’ विकास गरेको विश्वविद्यालयले जनाएको छ। एनालग रेडियो नेटवर्कमा जोडिने यस उपकरणमार्फत सुरुङ (खानी क्षेत्र) मा कार्यरत कामदार र एआई एजेन्टबीच वाकी–टकी प्रणालीबाट प्रत्यक्ष संवाद गर्न सकिने सुविधा रहेको बताइएको छ।
विश्वविद्यालयका अनुसार यो प्रविधिले नयाँ र महँगा पूर्वाधार निर्माण बिना नै कामदारलाई प्राविधिक विवरण, सुरक्षा मापदण्ड तथा अन्य महत्वपूर्ण जानकारी छिटो र सहज रूपमा उपलब्ध गराउन सक्षम बनाएको छ।
करिब ३०० भन्दा बढी प्रतिष्ठित उद्योगी तथा व्यवसायीको उपस्थितिमा आयोजित ‘फाइनल पिच’ कार्यक्रममा श्रेष्ठले पूर्ण खानी सुरक्षा पोशाकमा प्रविधिको प्रत्यक्ष मोडेल प्रदर्शन गरेका थिए। अवार्ड प्राप्त गरेपछि उनले अस्ट्रेलियामा कडा परिश्रमका साथ अध्ययन गर्दै नेपाल र नेपालीको गौरव बढाउन सकेकोमा खुशी व्यक्त गरे।
नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप प्रोत्साहनका उद्देश्यले स्थापित यो कार्यक्रममार्फत सन् २००१ देखि आजसम्म एक हजार १०० भन्दा बढी स्टार्टअप सुरू गर्न सहयोग पुगेको विश्वविद्यालयले जनाएको छ।





