
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले आफ्ना ४५ वटा सामुदायिक विद्यालयमा घेराबारा निर्माण सम्पन्न गरेको छ । विद्यालयको भौतिक सुरक्षा सुनिश्चित गर्नुका साथै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित घेराबारा निर्माण गरिएको हो ।
यसअघि विद्यालय खुला क्षेत्रमा रहेकाले विभिन्न अवरोध, क्षति तथा सुरक्षा चुनौती बढेपछि गाउँपालिकाले सबै विद्यालयलाई क्रमिक रूपमा घेराबाराले सुरक्षित गरेको हो । गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार शैक्षिक सुधारसँगै भौतिक संरचनाको संरक्षणलाई प्राथमिकता दिँदै योजनाबद्ध ढङ्गले घेराबारा निर्माण गरिएको हो ।
“गाउँपालिकाभित्रका सबै विद्यालयमा घेराबाराको काम समाप्त गरेका छौँ,” उपाध्यक्ष राईले भनिन्, “खुला विद्यालय क्षेत्रका कारण आउने समस्या हटाउन हामीले यो अभियान सञ्चालन गरेका हौँ ।”
एकान्त क्षेत्रमा रहेका धेरै विद्यालयमा पशुचौपाया तथा मानिसको अनियन्त्रित प्रवेशले क्षति पुर्याउने समस्या पाइँदै आएकोमा घेराबारा निर्माणपछि सहजता आएको सिंहदेवी माध्यमिक विद्यालय लेखर्काका प्रधानाध्यापक राजधन राई बताउँछन् । उनका अनुसार अब विद्यार्थीको सुरक्षा, भौतिक संरचनाको संरक्षण र पठनपाठन वातावरण दुवै सहज बनेका छन् ।
पहिले विद्यालयको चौरमा गाईबस्तु प्रवेश गर्ने, अनावश्यक मानिसहरुको आवतजावत हुने र शिक्षण–सिकाइमा बाधा पुग्ने समस्याले सताएको भए पनि अब ती चुनौती अन्त्य भएको प्रधानाध्यापक राईको भनाइ छ ।
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार गाउँपालिकाले शैक्षिक सुधारका लागि भौतिक पूर्वाधार विस्तारदेखि विद्यालय प्रोत्साहनसम्बन्धी कार्यक्रम निरन्तर अघि बढाइरहेको छ । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न अनुकूल वातावरण निर्माण नै प्राथमिकता भएको उनले बताए ।
गाउँपालिकाले हरेक वर्ष उत्कृष्ट विद्यालय छानोट गरी पुरस्कार प्रदान गर्दै आएको छ भने विद्यार्थी लक्षित प्रतिभा पहिचान कार्यक्रम पनि नियमित सञ्चालन हुँदै आएको अध्यक्ष बस्नेतले जानकारी दिए । उनका अनुसार स्थानीय आवश्यकता र मागका आधारमा विकासका कार्यहरू अघि बढाइँदै आएको छ ।





