
काठमाडौँ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले हिमालयन युनिभर्सिटी कन्सोर्टियम (हिमाली विश्वविद्यालय सञ्जाल) को सचिवालय औपचारिक रूपमा काठमाडौँ विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ।
इसिमोडको मुख्यालयमा आयोजित समारोहमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै इसिमोडले बुधबार काठमाडौँ विश्वविद्यालयलाई सचिवालय हस्तान्तरण गरेको हो।
सन् २००७ मा स्थापना भएको हिमाली विश्वविद्यालय कन्सोर्टियम हिन्दूकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीच सहकार्य मजबुत बनाउन लक्षित सञ्जाल हो। पहाडी क्षेत्रका साझा विकास चुनौती समाधानमा ज्ञान आदानप्रदानका लागि प्लेटफर्म निर्माण गर्नु यसको प्रमुख उद्देश्य हो। हाल यस सञ्जालमा क्षेत्रभित्र तथा बाहिरका १०० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू आबद्ध छन्।
सचिवालय काठमाडौँ विश्वविद्यालयमा सारिएको निर्णयले कन्सोर्टियमलाई थप स्वायत्तता दिलाउनका साथसाथै स्थानीय मर्म, प्राज्ञिक छवि र उर्जा अभिवृद्धि हुने इसिमोडले जनाएको छ।
सम्झौतापत्रमा हस्ताक्षरपछि इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले दिगो पर्वतीय विकासका लागि क्षेत्रीय नेतृत्व र अनुसन्धान मजबुत बनाउन गरिएको यो कदम साझा प्रतिबद्धताको प्रतीक भएको बताए।
काठमाडौँ विश्वविद्यालयका कुलपति प्रा. अच्युत वाग्लेले यो हस्तान्तरण हिन्दूकुश–हिमालय क्षेत्रका विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्न महत्वपूर्ण कोसेढुङ्गा सावित हुने धारणा व्यक्त गरे। उनले काठमाडौँ विश्वविद्यालय क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उच्च शिक्षण संस्थासँगको सहकार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउन तयार रहेको बताए।
समारोहमा सहभागी नेपालका लागि बेलायतका राजदूत रोब फेनले कन्सोर्टियमको विकास शैक्षिक समुदायका लागि उपयोगी हुने टिप्पणी गरे।





