
काठमाडौँ । पाकिस्तानले बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला निर्माण गरी विद्यालयलाई सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले शनिबार आयोजित कार्यक्रममार्फत नवनिर्मित प्रयोगशालाको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा राजदूत हास्मीले विद्यालयको नेतृत्व टोली, शिक्षक तथा स्थानीय समुदायको सक्रिय सहभागिताले शैक्षिक क्षेत्रमा दिगो प्रगति सम्भव भएको उल्लेख गरे । साथै उनले सूचना–सञ्चार प्रविधि, कृत्रिम बौद्धिकता र नवप्रवर्तनका अवसरलाई विद्यालयहरूले आत्मसात् गर्दै अगाडि बढ्नुपर्नेमा जोर दिए ।
पाकिस्तानी दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यक्रममा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइराला, काठमाडौँ–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख समन्तमणि आचार्य, प्राचार्य विष्णु घिमिरेलगायतको उपस्थिति थियो ।
पाकिस्तानले सन् २०१३ देखि नै ज्ञानोदय माध्यमिक विद्यालयका लागि कम्प्युटर, फर्निचर तथा अन्य आवश्यक उपकरण प्रदान गर्दै आएको दूतावासले जनाएको छ ।





