विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान सुरू |



भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सहजतालाई ध्यानमा राख्दै विद्यालयमा स्वचालित ‘सेनेटरी प्याड वितरण मेसिन’ जडान गर्न थालेको छ । महिनावारीका बेला छात्रालाई विद्यालय आउन प्रोत्साहित गर्ने र आत्मविश्वास बढाउने उद्देश्यले यो पहल गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष थामबहादुर राईका अनुसार हालसम्म गाउँपालिकाभित्रका १२ सामुदायिक विद्यालयमध्ये नौ विद्यालयमा मेसिन जडान भइसकेको छ भने बाँकी विद्यालयमा पनि छिट्टै जडान गरिनेछ ।

अध्यक्ष राईले भने, “पहिले हामी विद्यालयमा प्याड पठाउने गर्थ्यौं, तर धेरै छात्राले लाजका कारण माग्न हिचकिचाउने गर्थे । अब यो मेसिनले उनीहरूलाई गोप्य रूपमा सहजै लिन सुविधा दिनेछ ।”

गाउँपालिकाले पहिलो चरणमा सात माध्यमिक र पाँच आधारभूत विद्यालयमा मेसिन जडान गर्ने योजना बनाएको छ । यस मेसिनमार्फत कार्ड प्रणालीको प्रयोग गरी छात्राले विद्यालयमै आवश्यक प्याड लिन सक्नेछन् ।

गाउँपालिकाको शिक्षा शाखाका अनुसार, महिनावारीका कारण विद्यालयमा छात्राको उपस्थितिदर घट्ने समस्या समाधान गर्न यो योजना प्रभावकारी हुने अपेक्षा गरिएको छ । शाखाले मेसिनले छात्राको आत्मसम्मान र विद्यालयमा नियमित सहभागिता बढाउने विश्वास व्यक्त गरेको छ ।

गाउँपालिकाले आगामी चरणमा बाँकी विद्यालयहरूमा पनि यस्ता मेसिन जडान गर्ने र विद्यार्थीका लागि महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्