‘सिकाइमा सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक’



कञ्चनपुर । कृष्णपुर नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न विभिन्न पहल अघि बढाएको छ। यसले आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यार्थीको सफलता दर वृद्धि र विद्यालय शिक्षाको समग्र गुणस्तर सुधार्ने लक्ष्य राखेको छ।

नगरप्रमुख हेमराज ओझाले भने, “शिक्षा हाम्रो पहिलो प्राथमिकता हो। एसइई परीक्षामा कुनै विद्यार्थी पछाडि नपरोस्, प्रत्येक विद्यालय सफलताको उदाहरण बनेर कृष्णपुर नगरपालिकाले शिक्षामा नयाँ मानक स्थापना गरोस् भन्ने उद्देश्यका साथ पढाइलाई गुणस्तरीय बनाउन लागेका छौँ।”

उनले नगर क्षेत्रभित्रका १३ माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूसँग छलफल गर्दै विद्यालय शिक्षाको गुणस्तर सुधार र एसइईमा उत्कृष्ट नतिजा हासिल गर्ने उपायहरूबारे विचार विमर्श गरेको बताए। छलफलमा मूल्याङ्कन प्रणाली सुधार, प्राविधिक शिक्षण विधिको उपयोग र विद्यार्थी सिकाइ मूल्याङ्कनमा नवीनतम विधि अपनाउने विषयमा प्राथमिकता दिइएको छ।

शिक्षा शाखा प्रमुख गणेशबहादुर चन्दले विद्यालयको सिकाइ परिणाम सुधार गर्न शिक्षक, विद्यार्थी र अभिभावकबीच सक्रिय सहकार्य आवश्यक रहेको बताए। उनले नियमित अनुगमन, अतिरिक्त कक्षा सञ्चालन र अभिभावक सचेतना कार्यक्रम सञ्चालनका योजनाहरू अघि सारिएको जानकारी दिए।

विद्यालयका प्रधानाध्यापकहरूले शिक्षण विधि सुधार, भौतिक पूर्वाधारको अवस्था सुधार र शैक्षिक सामग्रीको व्यवस्था गर्न नगरप्रमुखसँग सुझाव दिएका थिए। नगरपालिकाले डिजिटल शिक्षण विधि, शिक्षक क्षमता विकास तालिम, विद्यार्थी प्रेरणा कार्यक्रम लगायतका पहलहरू निरन्तर सञ्चालन गर्दै आएको छ।

नगरप्रमुख ओझाले भने, “एसइई मात्र नभई आधारभूत तहदेखि माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा प्रणालीमा सुधार गर्दै गुणस्तर कायम राख्ने हाम्रो प्रतिबद्धता छ। नगरका सबै विद्यालयमा आधारभूत पूर्वाधार र सिकाइ सामग्री उपलब्ध गराउने योजना अघि बढाइरहेका छौँ।”

प्रतिक्रिया दिनुहोस्