
काठमाडौँ, २१ भदौ ।
काठमाडौँमा जारी अन्तर्राष्ट्रिय ‘ग्लोबल स्टिम फर एसडिजी समिट–२०२५’ अन्तर्गत शनिबार ९ देशका विद्यार्थीहरूले आफ्ना वैज्ञानिक आविष्कार र सृजनाहरू प्रदर्शनीमा प्रस्तुत गरे ।
धुम्बाराहीस्थित रामादा होटलमा शुक्रबारदेखि सुरु भएको तीन दिवसीय समिट मलेसियाको टिएमपी लिटिल साइन्टिस्ट रिसर्च एकेडेमी र नेपालको बेन्चमार्क इन्टरनेशनलको संयुक्त आयोजनामा भइरहेको हो । समिटमा १५ देशका विद्यार्थीहरूको सहभागिता भए पनि नेपाल, मलेसिया, भारत, पाकिस्तान, बंगलादेश, काजाकिस्तान, ओमन, स्पेन र इजिप्टका विद्यार्थीहरूले प्रत्यक्ष रूपमा आफ्ना आविष्कार प्रदर्शनीमा राखेका थिए ।

शनिबारको प्रदर्शनीमा विज्ञान, प्रविधि, गणित, हरित सहर परियोजना, वातावरण संरक्षण तथा व्यवस्थापनसँग सम्बन्धित ४० वटा स्टलमा विद्यार्थीहरूले आफ्ना आविष्कार नमुना र प्रत्यक्ष उत्पादनमार्फत प्रस्तुत गरे । यस अवसरमा नेपालका लागि मलेसियाली दूतावासका कन्सुलर मोहम्मद फिर्दुस विन अजमान र धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यञ्जनले विद्यार्थीहरूलाई बधाई दिंदै उज्ज्वल भविष्यको शुभकामना दिएका थिए ।

कार्यक्रमको पहिलो दिन शुक्रबार नेपाल र मलेसियाका कलाकार तथा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएर सांस्कृतिक आदानप्रदान गरेका थिए । आयोजकले उत्कृष्ट सृजना प्रस्तुत गर्ने विद्यार्थीहरूलाई पुरस्कारसहित मलेसिया भ्रमणको अवसर प्रदान गर्ने जनाएको छ ।

‘बेन्चमार्क इन्टरनेशनल’ नेपालका सञ्चालक अजय पुनका अनुसार समिट आइतबार विभिन्न कार्यक्रमसहित समापन हुनेछ । मलेसियाली आयोजक संस्था टिएमपी लिटिल साइन्टिस्ट रिसर्च एकेडेमीकी अध्यक्ष डा. जयामालिनीले गत वर्ष मलेसियामा आयोजना गरिएको समिटलाई सफलतापूर्वक सम्पन्न गरेपछि यसपटक नेपालमा आयोजना गरिएको बताइन् । उनका अनुसार दिगो विकास लक्ष्य (SDGs) मा आधारित यस प्रतिस्पर्धाले विद्यार्थीहरूलाई नयाँ आविष्कार र नवप्रवर्तनतर्फ प्रेरित गर्ने उद्देश्य लिएको छ ।





