
कैलाली । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगलाई सबैको विश्वास प्राप्त संस्था भएको बताएका छन् ।
आयोगको हीरक जयन्ती वर्ष २०८२ को अवसरमा सञ्चालित ‘विद्यार्थीमाझ लोकसेवा आयोग’ कार्यक्रमअन्तर्गत शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष रेग्मीले आयोग निष्पक्षता, स्वच्छता र योग्यतामा दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट पारे ।
उनका अनुसार, आयोगले प्रत्येक वर्ष निजामती सेवातर्फ करिब ४ हजार र सङ्गठित संस्थातर्फ करिब १५ हजार योग्य नागरिकको छनोट गरी सिफारिस गर्दै आएको छ । उनले भने, “हामी गुणस्तरीय र प्रतिबद्ध प्रतिस्पर्धीहरू खोजिरहेका छौँ ।”
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा. कमलप्रसाद पोखरेलले पनि आयोगको निष्पक्ष र पारदर्शी कार्यशैलीको प्रशंसा गरे ।
कार्यक्रममा आयोगसम्बन्धी वृत्तचित्र प्रदर्शन तथा कार्यपत्र प्रस्तुत गरिएको थियो । साथै, विद्यार्थीमार्फत आयोगको सन्देश फैलाइ सार्वजनिक सेवाप्रतिको आकर्षण बढाउने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।





