स्नातक तह पहिलो वर्षको भर्ना पुनः खोल्न विद्यार्थी नेताहरूको माग




काठमाडौं, २२ जेठ

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया स्थगित गरेपछि हजारौं विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)का नेताहरूले तत्काल भर्ना प्रक्रिया पुनः सुरु गर्न माग गरेका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरूले भर्ना प्रक्रिया स्थगित गरिनु आपत्तिजनक र अन्यायपूर्ण भएको जनाउँदै त्रिवि प्रशासनको निर्णय तत्काल फिर्ता हुनुपर्ने बताएका छन्। उनीहरूका अनुसार स्ववियूको निर्वाचनका कारण २८१ साल माघ ११ गतेदेखि त्रिविका आंगिक क्याम्पसहरूमा स्नातक तहको भर्ना बन्द गरिएको छ, जसले विद्यार्थीको शैक्षिक भविष्यमा गम्भीर असर पारेको छ।

शंकरदेव क्याम्पसका स्ववियू सचिव मदनराज उपाध्यायले भने, “विश्वविद्यालय प्रशासनको निर्णयका कारण अहिले करिब चारदेखि पाँच हजार विद्यार्थीले भर्ना हुन पाएका छैनन्। विगतमा विद्यार्थीहरूले साउन महिनासम्म भर्ना भएर भदौमा परीक्षा दिने अवसर पाउँथे, तर अहिले त्यो प्रक्रिया नै अवरुद्ध छ। त्रिविमा समेष्टार प्रणाली पनि छैन, जसले गर्दा विद्यार्थी जुनसुकै समयमा भर्ना हुन सक्ने लचिलो व्यवस्था हुनुपर्थ्यो।”

उनले थप बताएअनुसार, शंकरदेव क्याम्पसमा हरेक वर्ष तीनदेखि चार हजार विद्यार्थी स्नातक तहमा भर्ना हुने गर्थे, तर यस वर्ष अहिले सम्म केवल १५०० विद्यार्थी मात्र भर्ना भएका छन्। यो गिरावट त्रिविको भर्ना बन्द नीतिको प्रत्यक्ष नतिजा भएको उनको दाबी छ।

विद्यार्थी नेताहरूले त्रिविका भिसी, रेक्टर, र रजिष्ट्रारमाथि एकतन्त्रीय शैलीमा निर्णय लिएको आरोप लगाउँदै भने, “केन्द्रिय नेतृत्वको असंवेदनशीलताका कारण विद्यार्थीहरू पढ्न पाउने संवैधानिक हकबाट बञ्चित भएका छन्। निजी र सामुदायिक क्याम्पसहरूले भर्ना जारी राखेको अवस्थामा त्रिविका आंगिक क्याम्पसहरूमा मात्रै रोक लगाउनु दोहोरो मापदण्ड हो।”

कार्यक्रममा शंकरदेव क्याम्पसका स्ववियू सभापति सुशान्त बस्नेत, पब्लिक युथ क्याम्पसका नेपाल विद्यार्थी संघका सन्तोष श्रेष्ठ, कैलाशकुट क्याम्पसका सभापति सुवर्ण गौतम, भक्तपुर क्याम्पसका पुकार पराजुली, र थली क्याम्पसका अंशु फुँयाललगायतका नेताहरू सहभागी थिए। उनीहरूले त्रिवि प्रशासनले पटक–पटक शैक्षिक क्यालेण्डर उल्लङ्घन गर्दै आएको उल्लेख गर्दै भने, “रजिस्ट्रेसन खुलेको छ तर भर्ना गर्न नपाइने परिस्थिति अब सह्य छैन।”

नेताहरूले सबै क्याम्पसमा स्नातक तहको भर्ना प्रक्रिया तुरुन्त पुनः सुरु गरिनु पर्ने माग गर्दै विद्यार्थीको शैक्षिक अधिकारको सम्मान गर्न विश्वविद्यालय प्रशासनसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्