प्रधानाङ्ग र उराँवलाई मातृभाषा पुरस्कार अर्पण गर्दै धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ सम्पन्न



धरान, सुनसरी । नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राई लगायतले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२४ को उपलक्ष्यमा पहिलो चरणमा धरान उपमहानगरपालिका-८ सिरिजङ्गाचोकमा स्थापित लिम्बूभाषा लिपिका प्रवर्तक तथा सहिद सिरिजङ्गाको सालिकमा माल्यार्पण गर्नुभएको थियो । यसअवसरमा विभिन्न जनजातिका झाकी समेत प्रदर्शन गरिएको थियो ।

यसपछि ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०८०’को आयोजना धरानस्थित लाङ्घाली सभाभवनमा दोस्रो चरणको कार्यक्रम गरिएको थियो । यस महोत्सवका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले कार्यक्रम समापनका क्रममा भाषाको शक्ति भनेको सञ्चार गर्नु हो। मातृभाषा विना एक सेकेन्ड पनि बाँच्न सकिँदैन ।राज्यले भाषामाथि विभेद गरेको छ ।

स्थानीय तहले बाटोघाटो बिजुली र पुल आदि निर्माणका लागि बजेट छुट्याउँछ तर भाषाको विकासको बारेमा त्यति चासो राख्दैन । भाषाको उत्थान र विकासका लागि स्थानीय तहमा बजेट आउँछ तर त्यसमा खर्च नगरी रकमान्तर गरेको भन्ने सुनिन्छ,यो दु:खद हो भन्दै आपति प्रकट गर्नु भएको थियो। उहाँले भाषा जागरणसम्बन्धी अभियान देशैभरि चलाउने उद्वेश्यले पहिलोपटक प्रज्ञा-प्रतिष्ठानले काठमाडौँबाहिर ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ को आयोजना धरानमा गरेको बताउँदै प्रज्ञा-प्रतिष्ठान सबै समुदायको भएकाले ‘सबै भाषा सबै ज्ञान :सबैको प्रज्ञा-प्रतिष्ठान’ भन्ने उद्घोषसहित पहिलेको केन्द्रीकृत ज्ञानलाई अब विकेन्द्रित गर्दै अघि बढ्ने प्रतिबद्ध व्यक्त गर्नुभएको थियो ।

यसै कार्यक्रमका प्रमुख अतिथि धरानका ज्येष्ठ नागरिक १०३ वर्षीय चन्द्रमाया कटवालले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँलाई नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति राईले प्रशंसा-पत्र प्रदान गर्नुभएको थियो। यसैगरी कार्यक्रमका विशेष अतिथि तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले सेवाग्राहीको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउँदै मातृभाषा आफैँमा राष्ट्रियभाषा हो जाति आफैँमा राष्ट्र हुन भन्नु भएको थियो ।

उहाँले प्रकृतिलाई हेर्ने दृष्टिकोण किरातीलगायतका जनजातिको आआफ्नै छ । प्रकृति ,संस्कृति र प्रतिनिधि तीन कुराको तारताम्य मिलेमात्रै विकास हुने बताउँदै आफू तिनचुला पुज्ने व्यक्ति भएकाले श्रमदानको अभियान चलाएको उल्लेख गर्नुभएको थियो । उहाँले भाषासँगै इतिहास र संस्कृति जोडिएको हुन्छ ।राजनीतिक दृष्टिकोणबाट भाषा भनेको सबैभन्दा ठुलो शासन हो भन्ने मेरो ठम्याइरहेको छ ।अरूबाट शासित भयो भने भाषा लोप हुने खतरा देख्छु । साथै, अङ्ग्रेजी भाषाको मोहले आआफ्नो मातृभाषा नै लोप हुने अवस्था छ भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो ।

प्रमुख राईले नाक र रङको आधारमा कसैमाथि विभेद गर्न नमिल्ने बताउँदै धरान बहुभाषिक समाज भएकाले ‘बहुभाषिक पाठशाला’ बनाउन लागेको बताउँदै कम्तीमा हप्ताको तिन दिनचाहिँ श्रमदान गर्नेगरी श्रम संस्कृतिलाई पाठ्यपुस्तकमा राख्नुपर्ने जोड दिनुभएको थियो । उहाँले यस मातृभाषा महोत्सवमा बान्तवा राईभाषामा ‘एमएमको हजुर’… बोलको गीत गाउनुभएको थियो । कार्यक्रमको उद्घोषणका क्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले प्रज्ञा-प्रतिष्ठान सबैको अपनत्वमा पर्योस् भन्ने उद्धेश्यका साथ काठमाडौँभन्दा बाहिर बहुभाषिक पहिचान बोकेको धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’को आयोजना गरिएको हो , यस महोत्सवले सबैलाई ध्यानाकर्षित गरेको बताउनु भएको थियो ।

यस महोत्सवमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङले स्वागत मनतव्यका क्रममा प्रज्ञा-प्रतिष्ठानलाई आमसमुदाय माझ पुर्याउने उद्वेश्यअनुरूप कार्यक्रमको आयोजना गरिएको बताउनु हुँदै मातृभाषाको जागरण र उत्थानका निम्ति सँधै लागिपर्ने बताउनु भएको थियो । यसैगरी प्रज्ञा-प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ यस वर्ष नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई जनही १/१ लाख अर्पण गरिएको थियोे ।प्राधानाङ्ग अस्वस्थ भएकाले उपस्थित हुन सक्नु भएन तसर्थ प्रतिनिधिमार्फत सो पुरस्कार समर्पण गरिएको थियो ।

यस महोत्सवको दोस्रो चरणमा मातृभाषा पुरस्कार अर्पण , शुभकामना मनतव्य र विद्वत प्रवचन राखिएको थियोे ।यसै क्रममा भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले आफ्नो विद्वत प्रवचनमा भाषा विचार विनिमयको सशक्त माध्यम र सञ्चार हो ।प्रत्येकको मातृभाषा पहिलो प्राप्ति भाषा भएकाले अरू सिकाइका भाषा हुन भन्नु भएको थियो ।उहाँले कुनै पनि एउटा भाषाको मृत्यु हुनु भनेको एउटा सभ्यता समाप्त हुनु हो।राज्यको एकभाषा नीतिले अल्पसङ्ख्यक भाषाहरू लोप हुन पुगेको बताउनुभएको थियो ।

निरङ्कुश राणा र राजतन्त्रका कारण अल्पसङ्ख्यक भाषाहरू लुप्त भएको उल्लेख गर्दै राष्ट्रभाषा र राष्ट्रिय भाषा भनेर विभेद गर्नु राज्यले हुँदैन,सबैभाषालाई राष्ट्रभाषा भन्नुपर्ने तर्क राख्नु भएको थियो । यसैगरी महोत्सवको तेस्रो चरणमा ‘मातृभाषामा साहित्यको अवस्था’ विषयक कार्यपत्र नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य मुनाराज सेर्मा लिम्बूले प्रस्तुत गर्नुभएको थियो ।यसको पूरक टिप्पणी मातृभाषाका अध्येता शोभा सुनुवारले गर्नुभएको थियो । यसैगरी ‘सरकारी कामकाजको भाषा : कार्यान्वयनको चुनौती’ विषयक कार्यपत्र भाषा आयोगका निवर्तमान सदस्य अमृत योञ्जन तामाङले प्रस्तुत गर्नुभएको थियो । यसको पूरक टिप्पणी डा. सोम धिमालले गर्नुभएको थियो । यस महोत्सवमा ‘स्थानीय तहमा मातृभाषा प्रयोग : अप्ठेरा-सफ्ठेरा’ विषयक विमर्श कार्यक्रम स्थानीय जनप्रतिनिधिसँग राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्