त्रि-ज्योति माविको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न



काठमाडौँ । बुढानीलकण्ठ–१२ कपनमा रहेको त्रि-ज्योति माविले आफ्नो ३० औँ वार्षिकोत्सव तथा २९औँ अभिभावक दिवस सम्पन्न गरेको छ। श्री पञ्चमीको अवसर पारेर विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बिच विद्यालयले वार्षिकोत्सव,अभिभावक दिवस र त्रि-ज्योति प्रतिभाशाली सम्मान कार्यक्रम सम्पन्न गरेको हो।

त्रि-ज्योति माविका सञ्चालक समिति अध्यक्ष केशवप्रसाद दंगालको सभापतित्व र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीलाकुमारी यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेशका सभासद् जयराम थापा र बुढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामा विशेष अतिथिका रूपमा रहेका थिए भने अन्य विभिन्न क्षेत्रका प्रसिद्ध व्यक्तित्वहरू अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा ‘त्रि-ज्योति ब्रेन स्ट्रोम’ पत्रिकाको लोकार्पण गरिएको थियो भने त्रि-ज्योति कला,साहित्य सम्मान बाट गोविन्दप्रसाद घिमिरेलाई , त्रि-ज्योति जनसेवा सम्मान बाट विनोद चालिसेलाई, त्रि-ज्योति ज्येष्ठ नागरिक सम्मान बाट अम्बिका माया थापालाई, त्रि-ज्योति प्रतिभाशाली पूर्व विद्यार्थी सम्मान बाट उपसेनानी प्रतीक बुढाथोकीलाई र त्रि-ज्योति समर्पण सेवा सम्मान बाट जाङ्वु शेर्पालाई सम्मानित गरिएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले त्रि-ज्योति माविले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनका लागि शुभकामना दिएका थिए। कार्यक्रममा विद्यार्थीहरूका विविध प्रतिभाहरू समेत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्