२०८४ को निर्वाचनमा गगन थापा र नवराज भट्टराई आमनेसामनेको संकेत



काठमाडौं । राजनीति सम्भावनाको खेल हो। नेपाली राजनीतिमा छोटो समयमा देखिएको फेरबदलले समेत यसलाई थप पुष्टि गरेको छ। २०७४ र २०७९ का स्थानीय निर्वाचनदेखि वर्षाको कपन डुबानसमस्यासम्म आईपुग्दा गठबन्धनका स्थानीय नेता कार्यकर्ताहरुले गरेको हर्कतले समेत यसलाई थप पुष्टि गर्दै लगेको देखिन्छ।

गोरखापत्र जस्तो प्रतिष्ठित राष्ट्रिय दैनिकले वडाध्यक्ष तथा नगरप्रवक्ता नवराज भट्टराईको चरित्र हत्या गर्नेगरी छापेको सत्य र तथ्यहीन फिचर समाचार होस् वा गगन थापाको सहयोगमा संचालित स्थानीय डिजिटल पत्रिकाहरु हुन्। कुनैपनि घटनामा जोड्न मिलेसम्म जोडेर वडाध्यक्ष नवराज भट्टराईलाई बदनाम गर्न गरिएको प्रपन्च नै किन नहोस्। सकेसम्म, मिलेसम्म जोड्न पाएसम्म लगातार नवराज भट्टराईलाई प्रहार भईरहेको छ।

प्रकाशित समाचारहरु सत्यको छेउछाउ हुँदैनन्। घटनामा जोडिएको व्यक्तिको धारणा राख्नुपर्ने पत्रकारिताको सामान्य मान्यता समेत पालना गर्दैनन्। नवराज भट्टराईलाई के गर्दा चरित्रहत्या गर्न सकिन्छ ? कतिपय स्थानीय लेखक र पत्रकारको दैनिकी त्यसैमा खर्चिएको हुन्छ। त्यसैले पनि बूढानीलकण्ठ नगरपालिका र काठमाण्डौ ४ को राजनीतिमा नवराज भट्टराई सधैँ चर्चा, आलोचना र आकर्षणको पात्र बनिरहेका छन्।

आगामी संसदीय निर्वाचनमा एमालेले नवराज भट्टराईलाई टिकट दिने सम्भावना छ ?

खेलेर, हल्लिएर वा विदेश गएर समय बिताउनु पर्ने तन्नेरी उमेरदेखि कम्युनिष्ट राजनीतिमा लागेका नवराज भट्टराई फरक क्षमताका शहरीया युवा हुन्। प्रविधिको क्षेत्रमा राम्रो ज्ञान भएका उनी डिजिटल मार्केटिङ्गका अनुभवी व्यक्ति समेत हुन्।

नेकपा एमालेका जनवर्गीय संगठन, पार्टीको टोल कमिटी हुँदै वडा, नगर र राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यसम्म बनेका नवराज भट्टराईको वाक क्षमता निकै प्रभावकारी देखिन्छ। विषयवस्तुको राम्रो ज्ञान र वाककलामा अब्बल नवराज पार्टी भित्र समेत फरक पहिचान बनाउन सफल देखिन्छन्।

आफूलाई चित्त नबुझेको विषयमा पार्टीभित्र फरकमत राख्ने हिम्मत गर्ने उनी आफूले गरेको कामको जिम्मेवारी बोध गर्दछन्। एजेण्डामा खुलेर विरोध वा समर्थन गर्ने क्षमता भएका उनी कतिपय विषयमा पार्टी नेताहरुसँग समेत मुकाविला गर्ने गर्छन्।

नयाँ नयाँ पार्टीहरुको जन्म र तिब्र विकासले गर्दा पुराना र ठूला भनिएका राजनीतिक दलहरुले समेत आगामी निर्वाचनमा युवाहरुलाई जिम्मेवारी दिनुपर्ने अवस्था बढ्दै गएको छ। अझ शहरी राजनीतिमा युवालाई अगाडि बढाउनु ठूला राजनीतिक दलहरुको बाध्यता जस्तै बन्दै गएको देखिन्छ।

काठमाण्डौ ४ मा लगातार ४ पटक पराजित नेकपा एमालेलाई २०८४ को निर्वाचन जित्नैपर्ने दबाब छ। पुराना र अनुभवी नेताहरुलाई पार्टी काममा लगाएर संघीय संसदको संसदीय फाँटमा युवालाई अगाडि बढाएको एमालेले आगामी निर्वाचनमा मिलेसम्म ४० हाराहारीका युवालाई नै शहरी निर्वाचन क्षेत्रमा उम्मेद्वार बनाउनु पर्ने दबाब बढ्ने देखिन्छ।

पार्टीका विदेश विभाग प्रमुख स्थायी कमिटीका प्रभावशाली नेता डा. राजन भट्टराई अब प्रत्यक्ष निर्वाचन लड्ने विषय लगभग टुङ्गिएको देखिन्छ। अझ गगन थापासँग पटक-पटक पराजित भएपछि यहि क्षेत्रमा उठ्ने अवस्था देखिदैन। नेकपा एमालेभित्र कतिपयले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषा किरणलाई एमालेले उम्मेद्वारको रुपमा चर्चामा ल्याएपनि भूगोलको राजनीतिमा नभिजेकी उनलाई समेत काठमाण्डौ ४ भारी पर्ने देखिन्छ।

त्यसैले आगामी निर्वाचनमा अनुभवी नवराज भट्टराई वा कुनै अर्को युवा नेतालाई एमालेले छान्ने विषय लगभग पक्का जस्तै देखिन्छ। त्यसैले आगामी निर्वाचनलाई ध्यानमा राख्दै तथ्यहीन समाचारको खेती गरी युवानेता भट्टराईको प्रभावलाई कमजोर बनाउन गठबन्धन भित्र र पार्टी भित्रै समेत अराजनीतिक हत्कण्डाहरु प्रयोग भईरहेको देखिन्छ।

संगठन निर्माणमा थप क्रियाशीलता, समय व्यवस्थापनमा सचेतता र कतिपय अवस्थामा तन्नेरीपन कम गर्न सके नवराज भट्टराईको आगामी राजनीतिक सफलतालाई विपक्षीहरु मात्र होईन, पार्टी भित्रकै अनुभवी र पुराना भनिएका नेताहरुले समेत रोक्न सक्ने देखिदैन।

प्रतिक्रिया दिनुहोस्