देशमा ‘आज रमिता छ’



काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने र त्यसबापत मोटो रकम हत्याउने दुस्कर्ममा निजामती र राजनीतिका ठुला व्यक्तिहरु धमाधम पक्राउ पर्न लागेपछि नेपाली राजनीति निकै गर्मायो भने जनचासो ह्वात्तै बढ्यो । यो प्रकरणको प्रारम्भदेखि नै नेपाली राजनीति लगभग दुई ध्रुवमा ध्रुवीकृत भयो । विशेषगरी सत्तापक्षीय गठबन्धन एकातिर र नेकपा एमाले अर्कोतर्फ जस्तो देखियो । नेकपा एमाले र यसका नेता कार्यकर्ता खासगरी नेपाली काँग्रेसका नेताहरुको तेजोबध गर्ने, यो प्रकरणमा नाम जोडिएकाहरुको विरुद्धमा बहस छेड्ने थाले त नेपाली काँग्रेससहितका सत्ताधारी गठबन्धनका नेता कार्यकर्ता नेकपा एमाले र त्यसको नेतृत्व एवम एमालेसँग जोडिएका व्यक्तिहरुको विरुद्धमा प्रचार गर्न र बहस चलाउन तल्लीन भए । नेपाली मिडिया पनि सदा झैँ झण्डै दुई धारमै विभाजित भए। कुरोको चुरो पत्ता लगाउनु भन्दा पनि गैर एमाले धारका मिडिया एमाले विरुद्ध र एमाले निकट मिडिया सत्ताधारी विरुद्ध सँस्थागत प्रहारमा उभिए । जुन प्रष्टसँग चिनिन्थ्यो। एकाध मिडिया मात्र अपवाद रहे ।

उता आरोपीलाई प्रहरीले धमाधम पक्राउ गरी बयान लिँदै थियो । बाहिर अनेक किसिमका हल्ला र अड्कलबाजीहरुले बजार तातेको थियो । प्रहरीको अनुसन्धान र बयानका क्रममा आएका अपुष्ट कुराहरुलाई मानौँ अन्तिम सत्य नै यही हो जसरी एक अर्कालाई आरोप प्रत्यारोप चल्न थाल्यो। एकले अर्कालाई हिलो छ्यापेर आफु बेदाग देखिने प्रतिस्पर्धा राम्रैसँग चल्यो । यो हिलो छ्यापाछ्यपको प्रतिस्पर्धामा सत्ताधारीभन्दा नेकपा एमाले केही रक्षात्मक बन्न पुगे झैँ देखिन्थ्यो । समग्रमा आफ्ना र मन परेकाको देवत्वकरण गर्ने र विपक्षीको राक्षसीकरण गर्ने नेपालीको जुन पहिचान थियो त्यो प्रवृत्तिको एकपटक पुनरावृत्ति भयो । सायद यो प्रवृत्ति अनन्तकालसम्म रहिरहने छ ।

अहिले पक्राउ गरिएका व्यक्तिहरुसँग बयान लिई प्रतिवेदन तयार गरी मुद्धा दर्ता भैसक्यो। जब यो भयो तब झन व्यापक रुपमा समाज राजनीति ध्रुवीकृत भयो । यसपछि पनि नेकपा एमाले र सत्ताधारी गठबन्धन एक अर्कालाई सिध्याउन लागि परेका छ्न । खासगरी सत्तापक्षीय नेता कार्यकर्ता यतिबेला नेकपा एमाले , त्यसको नेतृत्व र उससँग जोडिएका व्यक्तिहरुलाई बदनाम गराएर अभियुक्त करार गर्न भरमग्दुर प्रयास गरिरहेका देखिन्छन । नेकपा एमाले यसलाई षड्यन्त्रको रुपमा व्याख्या गरिरहेको छ । आफूलाई कमजोर बनाउने, जनतासामु बदनाम गराउने खासगरी अध्यक्ष केपी ओलीकै बदनाम गराउने राज्यनियोजित षड्यन्त्र भनी उसले प्रतिरक्षा गरिरहेको छ । अनुसन्धान प्रतिवेदनका विभिन्न अंश देखाउँदै केही अभियुक्तलाई आफुबिरुद्ध बोल्न लगाएर राज्य नै आफूबिरुद्ध खनिएको आरोप लगाएको छ । काँग्रेस माओवादीका नेता कार्यकर्ता विशेषगरी आरोपी केशव दुलालको बयानका केही अंशहरु देखाउँदै एमाले र नेतृत्वलाई सकेसम्म बदनाम गराउने ध्याउन्नमा छन्। उता नेकपा एसका कार्यकर्ता भने नेकपा एमाले, नेतृत्व र जोडिएका व्यक्तिको खिलाफमा जे भेटिन्छ , त्यो हतारहतार सामाजिक सन्जालमा पोस्ट गर्ने , शेयर गर्ने र प्रतिकृया लेख्न व्यस्त छन्। अनेक पोस्ट गर्ने र अनेक ट्रोल बनाउनेमा पनि उनीहरु नै अग्र पङ्तिमा देखिन्छन । तर वास्तविक कुरो के हो? वास्तविक दोषी को हो? दोषी उम्कन्छ कि? निर्दोष फस्छ कि ? भन्नेतर्फ खबरदारी हुनुपर्ने थियो । तर त्यसो भएन ।योसँगै विभिन्न सवालहरु खडा भएका छन ।

भ्रष्टाचार , मानव तस्करी , र संगठित अपराधजस्ता मुद्धामा पनि हामी यसरी पक्ष र विपक्षमा विभक्त हुनु भनेको सुशासनको मामलामा पनि हामी एकताबद्ध हुन सक्दैनौँ भन्ने नै हो । यो मुलुकको लागि चिन्ताको विषय हो । भ्रष्टाचारको पनि कुनै जात, धर्म, वर्ण, लिङ्ग र सम्प्रदाय हुन्छ र? हामी किन यसरी पक्ष र विपक्षमा बाँडिएका छौँ? नेकपा एमालेले अभियुक्त केशव दुलाल कांग्रेस कार्यकर्ता भएको र राज्यले नै आफुबिरुद्ध बयान दिन लगाएको आरोप उठाएको छ । राज्यले नै निज अभियुक्तलाई एमाले र यसको नेतृत्वको नाम पोल्न लागाएर गम्भीर षड्यन्त्र गरेको भन्दै अझ प्रहरीकै उच्च अधिकारीले निज दुलालको बयानको केही अंश केही मिडियालाई उपलब्ध गराएर आफू बिरुद्ध कुप्रचार गराएको आरोप लगाएको छ । यसको सत्यतथ्य के हो? यदि प्रहरीबाटै यो किसिमको हर्कत भएको हो भने आज त हामी बिरोध र समर्थनको नाममा विभक्त होऔँला तर यसले सिङ्गो प्रहरी सङ्गठनमा यस्ता प्रवृत्तिको असर कहिलेसम्म पर्ला? हामीले त्यसतर्फ सोच्न सकेनौँ। यदि एमालेले लगाएको आरोप सत्य होइन भने प्रहरी प्रशासन माथि नै भरोसा टुट्ने यस्ता आरोप लगाउन नेकपा एमालेलाई चाहिँ छुट छ? कि आफ्ना नेता कार्यकर्ता जोगाउने जवाफी फायर मात्र हो?

त्यस्तै विभिन्न मिडियामा व्यापक प्रचार भएका एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य , उपाध्यक्ष बादलपत्नी नैनकला थापा लगायतको सन्दर्भमा वास्तविकता के हो? यदि शंकास्पद देखिएको हो भने पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई केले रोक्यो? तत्कालीन गृह सचिव एवम हालका अख्तियार प्रमुख प्रेमकुमार राईको संलग्नता के हो? ? हामीले त यस्ता कुरामा पो राज्यलाई दबाब दिनुपर्थ्यो । तथापि हामी त आफ्नालाई भगवान् र विपक्षीलाई राक्षस बनाउनमै केन्दृत भयौँ । अभियुक्तको बयान नै फेरेर आफूबिरुद्ध बयान दिन लगाएको भनी एमालेले आरोप लगाउँदै ‘ तथ्य´ भन्दै विभिन्न सामग्री प्रकाशित गरेको छ । यसको सत्यता के हो? किन खासगरी केशव दुलालले एमाले र सम्बद्ध व्यक्तिको नाम लिएको कुरा मात्र बाहिर आएको छ? टोपबहादुर, बालकृष्ण , टेकनारायण , इन्द्रजित लगायतका बयान किन सार्वजनिक भएनन? अनुसन्धानकै क्रममा इन्द्रजित राईले आफूमाथि शारीरिक र मानसिक यातना दिएको , अख्तियार प्रमुख प्रेमकुमार राईको नाम लिएमा बचाइदिने भनेको भन्ने कुराहरु बाहिर आएका थिए। अहिले त्यो कुरा कसरी सामसुम भयो? उनको बयान किन बाहिर आउन सकेन? आरजु -मन्जु लेनदेनको अडियो भनी विभिन्न संवादहरु सामाजिक सन्जालमा छताछुल्ल भएका थिए। त्यो आरजुआरजु-मन्जु अडियो प्रकरणको अनुसन्धान कहाँ पुग्यो? भयो भएन? भएको भए सत्य के हो? प्रहरी प्रमुख वसन्त कुँवर जोडिएको भन्ने कुराको सत्यता के हो? जनता यी यावत प्रश्नहरुको यथार्थ जवाफ चाहन्छन्। न कि भ्रष्टाचार र अपराधको पक्ष र विपक्षमा विभाजित हुन ।

अत: यी विविध काण्ड र तिनका घटनाक्रम हेर्दा देशमा सुसाशन भन्ने चिज एउटा सुन्दर सपना मात्र हुने भयो भन्दा अत्युक्ति नहोला । यसले राष्ट्रको छवि र गरिमा अन्तरराष्ट्रिय जगतमा धुलिसात हुँदै छ्। अझ देशका सचेत युवा वर्ग पनि राजनीतिको नाममा भ्रष्टचारको पक्ष र विपक्षमा उभिनु अर्को गम्भीर चिन्ताको विषय हो । आज देशमा जुन रमिता चलिरहेको छ , त्यो रमिता बन्द गरौँ। भ्रष्टाचार एकप्रकारको रोग हो। जसले देश ध्वस्त पार्छ्। `बुढी मरी भन्दा पनि काल पल्कियो´ भन्नेमा चिन्ता हुनुपर्थ्यो। तर हामी उत्सव मनाइरहेका छौँ । बेलैमा चेतना जगाऔँ।

प्रतिक्रिया दिनुहोस्