एमालेको मिसन ग्रासरुटलाई गिज्याउँदै बूढानीलकण्ठ १०,११ र १२ का वडाध्यक्षहरु



काठमाडौं । नेकपा एमालेले पार्टी सुदृढिकरण र विस्तार अभियान २०७९ “मिसन ग्रासरुट” लिएर देशभरिका स्थानीय तहमा क्रियाशील रहेको छ। वडास्तरीय तयारी बैठक, वडा कमिटीका पूर्ण बैठक संचालन गरेर पार्टी भित्रको वेथिति र विसंगति अन्त्य गर्ने संकल्पका साथ वडा तहसम्म पुगिसकेको छ।

बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १ बाट शुरु भएको वडा कमिटीहरुको पूर्ण बैठक २, ३ हुँदै वडा नम्बर १२ सम्म सकिएको छ। दलित आयोगका सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीसँग मनोरञ्जनात्मक शेयरिङ्ग भ्रमणमा रहेका बूढानीलकण्ठ १०, ११ र १२ वडाध्यक्षहरु मिसन ग्रासरुटलाई गिज्याउँदै मनोरञ्जनमा रमाईरहेका छन्। निजि भ्रमणमा रहेका उनीहरु केवल वडाध्यक्ष मात्र होईनन्। पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेका पार्टीका जिम्मेवार नेता समेत हुन्।

वडाध्यक्ष मध्ये बूढानीलकण्ठ-१२ का वडाध्यक्ष शम्भु भट्टराई नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटीका उपाध्यक्ष समेत हुन्। नगरपालिकाको सुशासन समितिका संयोजक समेत रहेका उनी आफ्नो वडामा भएको आलोचनात्मक बैठक छोडेर हिउँमा रमेको फोटो हाल्दै रमाईरहेका देखिन्छन्।

वडा नम्बर ११ का वडाध्यक्ष राजु अधिकारी नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य हुन्। अधिकारीको वडामा एमालेबाट निर्वाचित उनी एक्ला जनप्रतिनिधि भएको कारण जरुरी काम बाहेक कार्यवहाकको जिम्मेवारी अरुलाई नदिने पार्टी नीति विरुद्धमा लागेको देखिन्छन्।

वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई नगरप्रवक्ता सहित महाधिवेशन प्रतिनिधि परिषदका सदस्य समेत हुन्। नेकपा एमाले बागमती प्रदेश संगठन कमिटी अन्तर्गत स्थानीय तह विभागका सदस्य समेत रहेका भट्टराई युवाहरु माझ आशालाग्दा नेताको रुपमा चित्रित छन्। पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेका उनी आफ्नो वडाको मिसन ग्रासरुट अभियान छोडेर निजि भ्रमणमा निस्किएका हुन्। जनप्रतिनिधिले घुम्न पाईदैन भन्ने आसय पक्कैपनि होईन। जनप्रतिनिधि मात्र होईन, हरेक व्यक्तिको व्यक्तिगत स्वतन्त्रता हुन्छ। नेपाल मात्र होईन, आफ्नो निजि खर्चमा संसारका जुनुसुकै मुलुकको भ्रमण गर्न पाईन्छ। अझ आन्तरिक पर्यटनले राष्ट्रिय पुँजी विकासमा सहयोग पुग्छ।

नेकपा एमालेबाटै निर्वाचित जनप्रतिनिधिहरु पार्टीको मुख्य अभियानलाई गिज्याउने गरी अनुपयुक्त समयमा हिड्नु हुन्छ कि हुन्न ? जनप्रतिनिधिहरु पार्टी निर्देशन विपरित स्वेच्छाचारी भए। पार्टी कार्यकर्ता र आम जनताभन्दा परिवारवादमा लिप्त भएभन्ने कार्यकर्ताको आरोपलाई सँगै बसेर चिर्नुको साटो पार्टीको केन्द्रिय सदस्य रचना खड्का, प्रदेश सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु एकैपटक आएर केन्द्रिय अभियानमा लागिरहँदा त्यसलाई चुनौतीदिनेगरी हिउँमा खेलेको फोटोहरु सामाजिक संजालमा राख्नु, मनाङ्गबाट मुस्ताङ्ग लागियो भन्नु जस्ता फोटो र पोष्टहरु सामाजिक संजालमा हाल्दा अभियानकर्मीहरु, पार्टी सदस्यहरु र आफ्ना मतदाताहरुले के सोच्लान भन्ने हेक्का समेत राख्नु पर्छ कि पर्दैन ?

यी वडाध्यक्षहरुलाई वडा कमिटीका हरेक पूर्ण बैठकमा कार्यकर्ताहरुले उठाएको आरोप जनप्रतिनिधिहरु पार्टी कार्यकर्ता र जनता भन्दा टाढा भए भन्ने आरोपको आफैले पुष्टि गरेँ भन्ने लाग्छ कि लाग्दैन होला ? पार्टीको सूर्य चिन्ह लिएर जित्ने। पार्टीको अभियानलाई छोड्ने। आफैँलाई मतदान गरेर जिताउने पार्टी कार्यकर्ताको भावनामा चोट पुग्छ भन्ने लाग्छ कि लाग्दैन होला ?

उत्तर सहज छ, दुई-दुई पटक वडाध्यक्ष भै सकेका वडाध्यक्षहरुलाई फेरी वडाध्यक्ष हुने सोचमा छैनन्। तर आफूलाई भावी नगरप्रमुखको रुपमा दावी गर्ने वडा नम्बर १० र १२ का वडाध्यक्षहरुलाई टिकट कार्यकर्ताले दिने होईन। नेतासँग व्यक्तिगत सम्बन्ध बनाउन मिसन ग्रासरुटले फरक पार्दैन भन्ने दम्भ होला कि के होला ?

के-के भयो वडा कमिटीको बैठकमा :
केन्द्रिय सदस्य रचना खड्काले वडा नम्बर १०, ११ र १२ मा पूर्ण साथै आंशिक समय दिईन। बूढानीलकण्ठ नगरपालिका हेर्ने प्रदेश कमिटीका सदस्य शिव सुन्दर राज वैद्यले पुरा समय दिए। त्यस्तै प्रदेश कमिटीका सदस्यहरु मधु तिमल्सिना, उपेन्द्र पौडेल, मुरारीप्रसाद भण्डारी पनि सहभागी भए। नगर कमिटी अध्यक्ष प्रदेप डंगोल, जिल्ला र नगर कमिटीले तोकेका व्यक्तिहरु सहभागी थिए।

छलफलमा उठेका मुख्य सवालहरु :
निर्वाचनमा फोटो खिचाएवापत फौजदारी अभियोग लागेका पार्टीका कार्यकर्ताहरुप्रति पार्टीले चासो नदिएको, पार्टीको काम गर्दा विपक्षीहरु पुरस्कृत हुने तर एमालेका कार्यकर्ताहरुले फौजदारी अभियोग खेप्नुपरेको, पार्टी सदस्यहरु गुणात्मक भन्दा पनि संख्यात्मक भएको, कमिटीहरु ठूला हुनाले कोरम पुग्न गाह्रो भएको, स्थानीय पार्टी कमिटी, स्थानीय जनप्रतिनिधिहरु, पार्टीको नगर, जिल्ला र प्रदेश कमिटीमा रहेका जिम्मेवार नेताहरु समेत पार्टी उम्मेदवार हराउने भूमिकामा रहेको, जनता र जनप्रतिनिधिहरुको सम्बन्ध मालिक र कर्मचारी जस्तो भएको, जनप्रतिनिधिहरु सामुहिक निर्णयमा भन्दा आफूलाई फाईदा हुने काममा केन्द्रित भएको, गल्ति माथिल्ला कमिटीका नेताहरुले गर्ने तर दोष स्थानीय कमिटीहरुलाई दिने गरेको, खासगरी वडाध्यक्षहरु, नगरप्रमुख, उपप्रमुखले विकास निर्माणका योजनाहरु छनोट गर्ने/कार्यान्वयन गर्ने भन्दा अनावश्यक कार्यक्रमहरुमा सहभागी भएर समय बिताएको जस्ता विषयहरु प्राय: वडाका बैठकहरुमा उठेका छन्।

मिसन ग्रासरुटमा खासगरी केन्द्रिय सदस्य रचना खड्का र प्रदेश नेताहरुले कार्यकर्ताबाट प्राप्त सुझावहरु जस्ताको तस्तै केन्द्रिय कमिटीसम्म पुर्याउने, जनसंगठनहरुको गठन तथा पुनर्गठन गर्ने, प्रत्यक्ष उपस्थित भएर पार्टी सदस्यता नवीकरण तथा वितरण गरिने, आवश्यक रहेको अवस्थामा वडा तथा नगर कमिटीमा थपघट गर्ने, पार्टी प्रशिक्षण संचालन गरी पार्टी सदस्यहरुको वैचारिक क्षमता विकास गर्ने, पार्टीमा युवा सहभागीता बढाउने, जनप्रतिनिधि र पार्टी कार्यकर्ताबीचको सम्बन्ध राम्रो बनाउँदै पार्टी कमिटीहरुलाई चुस्त-दुरुस्त बनाउने विषयमा मिसन ग्रासरुट अभियानमै परिणाम ल्याउने धारणा राखेकी थिईन।

साविक कपन क्षेत्रका ३ वटै वडाहरुमा पार्टी कमिटीका सदस्यहरु, टोल कमिटीका पदाधिकारीहरु, जनवर्गीय संगठनका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो। ढिलै भएपनि पार्टीले राम्रो अभियान शुरु गरेको र यसले पार्टी जीवनमा नयाँ गतिदिने विषयमा स्थानीय नेता-कार्यकर्ताहरु आशावादी देखिन्थे।

फोटोमा मिसन ग्रासरुट बूढानीलकण्ठ १०,११ र १२

प्रतिक्रिया दिनुहोस्