जाजरकोटको स्वास्थ्य संस्थामा औषधि अभाव



काठमाडौं । जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीहरूले औषधि नपाएको गुनासो गरेका छन् । चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने गरेको छन् ।

विगत महिना दिनदेखि बिरामीले फार्मेसीबाट औषधि नपाएको गुनासो गर्दै आएका छन् । फार्मेसीमा औषधिका लागि पुर्जा लिएर बिरामीका आफन्तहरू आउँछन्, तर यहाँ औषधि नपाएपछि गाली मात्र खानुपरेको फार्मेसीमा काम गर्ने स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य बीमा गरेका बिरामी घरबाट पैसा बोकेर नआउने भएकाले फार्मेसीमा औषधि नपाउँदा झगडा गर्न बसेझैँ हुने गरेको स्वास्थ्यकर्मीले बताउँछन् ।

चिकित्सकले लेखिदिनुभएको औषधि नपाएर निजी मेडिकलमा किन्न बाध्य भएको भेरी नगरपालिका–१ की तली कामीले बताए ।

सामान्य ग्यास्ट्रिकको औषधिसमेत नपाएको उहाँले गुनासो गरे । त्यस्तै भेरी नगरपालिका–३ का चन्द्रबहादुर बुढाले पनि फार्मेसीबाट औषधि नपाएको बताए । “नाममात्रको फार्मेसी भएपछि के गर्नु, औषधि बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता छ”, उनले भने ।

सदरमुकामभन्दा बाहिरका पालिकाबाट सेवा लिन आएका बिरामीलाई समस्या पर्ने गरेको छ । फार्मेसीमा औषधि सकिएको जानकारी सम्बन्धीत निकायलाई गराए पनि औषधि जिल्लामा नआएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्