काभ्रेमा रेबिज प्रभावित क्षेत्रमा खोप दिने



काठमाडौं । काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ । कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि दुई गाउँमा दुई गाई मरेका थिए ।

महाभारत– १ को गोकुले र ८ नं वडास्थित घर्तीछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिन थालिएको जनाइएको छ । सोमबार साँझसम्म १९ स्थानीयलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईँले जानकारी दिए । उनका अनुसार उक्त रेबिज प्रभावित क्षेत्रमा एक सय ६० डोज खोप उपलब्ध गराइएको छ ।

उहाँ अनुसार मरेका दुई गाईका केही अङ्गहरू गाडिएको स्थानबाट निकालेर परीक्षण गर्दा शनिबार रेबिज रोगबाट गाई मरेको पुष्टि भएको हो । “हामी रोकथामका लागि थप अनुसन्धान गरिरहेका छौँ, स्थानीय स्वास्थ्यकर्मीमार्फत खोप लगाउन स्थानीयलाई पे्ररित गरिरहेका छौँ”, सेढाईँले भने । स्थानीयका अनुसार मासु खाएका कारण दुई गाउँका करिब ६० जना ‘ट्रेसिङ’मा परेको बताइन्छ ।

सोमबारदेखि स्थानीय जनप्रतिनिधि, अगुवालगायत विद्यार्थीले चेतनामूलक ¥यालीको आयोजना गरेका छन् । साथै गाउँपालिकामा देखिएको रेबिज रोगप्रति जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आवश्यक अनुसन्धान तथा पशुचौपायालाई सुरक्षित गर्नेबारे समन्वय भइरहेको जनाएका छन् । काभ्रेपलाञ्चोकमा तीन महिनापछि महाभारतमा रेबिज रोग फेलापरेको हो ।

यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो । कार्यालयले त्यतिबेला दुई सय ८९ जनालाई रेबिजविरुद्ध खोप लगाएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएपछि तथा अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाउनुपरेको सेढाईँले बताए ।

घटनाक्रमले काभ्रेमा रेबिज रोगको सङ्क्रमण केही वर्ष नै रहिरहने जनाइएको छ । शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट विसं २०७७ चैतयता रेबिज रोगका कारण जिल्लाका छ जनाको मृत्यु भएको छ ।

दुई वर्षअघिदेखि रेबिजबाट मानिसको मृत्यु भएपछि स्वास्थ्य कार्यालय र केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्