चन्द्रागिरि नगरपालिकामा डेङ्गुको निःशुल्क परीक्षण



काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेङ्गु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । चनपा–४ स्थित सो अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क परीक्षण तथा उपचार समेत भइरहेको छ ।

नगरप्रमुख घनश्याम गिरीले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई नगरवासीलाई डेङ्गु रोगको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको जानकारी दिए । उनले भने, “नगर क्षेत्रभित्र पनि डेङ्गु रोगको सङ्क्रमणको जोखिम बढ्दो क्रममा देखिएकाले स्वास्थ्य सतर्कता अपनाउन म नगरवासीलाई हार्दिक अनुरोध गर्दछु । ”

अस्पतालका प्रमुख डा.हेमनाथ आचार्यले डेङ्गु रोगको निःशुल्क परीक्षण तथा उपचार भइराखेको जानकारी दिए । उनका अनुसार अस्पतालमा हालसम्म जटिल प्रकारका डेङ्गु रोगका बिरामी भर्ना भएका छैनन् । पन्ध्र श्ययाको अस्पतालले डेङ्गु रोग परीक्षणका लागि आवश्यक कीटको व्यवस्था नगरपालिकामार्फत मिलाएको छ ।

लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको उनको भनाइ छ । डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र बर्सातको मौसम सुरु भएपछि डेङ्गु ज्वरोको समस्या बढ्न थाल्दछ ।

एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण रहेको डा।आचार्यले बताए । रासस

प्रतिक्रिया दिनुहोस्