जापानिज इन्सेफ्लाइटिसको महामारीसँगै चितवनमा उच्च सावधानी



काठमाडौं । जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी फैलिएपछि पालिका तहमा जनचेतना जगाउन थालिएको छ । जोखिम बढ्न नदिन विशेषज्ञ सावधानी अपनाइएको छ । हालसम्म नौ जनामा जापानिज इन्सिेफ्लाइटिसको सङ्क्रमण पुष्टि भइसकेको छ । बाइस शङ्कास्पद बिरामीको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार जिल्लाको द्रुत प्रतिकार्य टोली (र्यापिड रेस्पोन्स टिम) लाई सक्रिय बनाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुखको संयोजकत्वमा हुने यो टोलीमा भरतपुर अस्पताल, दुई मेडिकल कलेज, निजी अस्पताल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि सदस्य हुने गर्दछन् । टोलीले जिल्लाका सबै पालिका र स्वास्थ्य कार्यालयमा महामारीमा आवश्यक पर्ने औषधिको मौज्दात (बफर स्टक) गर्ने निर्णय गरेर काम अघि बढाएको छ ।

स्थानीय सातै तहमा रहेका द्रुत प्रतिकार्य टोलीलाई सक्रिय बनाइएको छ । कुनै पनि रोगको अप्रत्यासित वृद्धि भएको पाइएमा स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । सो टोलीले थप आवश्यक परेमा जिल्लाको टोलीसँग समन्वय गरेर आवश्यक सहयोग लिने गरी व्यवस्था मिलाइएको छ ।

जिल्लाको टोलीले मुख्य अस्पताल र स्थानीय तहका अस्पताललाई जापानिज इन्सेफ्लाइटिससहित महामारीजन्य रोगको शङ्का देखिएमा दैनिक रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको छ । चापागाईंका अनुसार विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकसँग बसेर छलफल र तयारी गरिएको छ । उनीहरुसँगको छलफलमा कस्ता बिरामी निगरानीमा राख्ने भन्ने विषयमा पनि छलफल भएको छ । पालिकामा रहेका जापानिज इन्सेफ्लाइटिसका बिरामीको अवस्थाको बारेमा निरन्तर अनुगमन गर्न भनिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकले ती बिरामी र आफन्तलाई भेट गरी निरन्तर रुपमा अवस्था बुझ्ने काम गरिरहेका छन् । जिल्लाको टोलीले मुख्य मुख्य अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, मेडिकल विभाग प्रमुख, अस्पताल निर्देशकसँग छलफल गरेर प्राविधिक पक्षको जानकारी र तयारीका विषयमा छलफल गरेको छ ।

पालिकाका स्वास्थ्य शाखा प्रमुखसँग जिल्लाको टोलीले छलफल गरेर तयार रहन भनिएको छ । रोग फैलिन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा पालिकाले काम गरिरहेको उनी बताउँछन् । जिल्लाका पाँच पालिकामा एकैपटक नौ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाका चार, माडी नगरपालिकाका दुई, राप्ती, रत्ननगर र कालिका नगरपालिकाका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ । गत साउन २० गते पहिलोपटक भरतपुर र माडीमा सङ्क्रमण पुष्टि भएको थियो । गत साता एकैपटक सातजना थपिएपछि महामारीको अवस्था सिर्जना भएको हो । सङ्क्रमितमध्ये पाँच महिला र चार जना पुरुष रहेका छन् । उनीहरु २९ देखि ७५ वर्ष उमेर समूहका रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्