अर्बुदका विपन्न बिरामीलाई सहयोग गर्दै पूर्वाञ्चल क्यान्सर अस्पताल



–चन्द्रकला भण्डारी
विपन्न नागरिक औषधोपचार कोषमार्फत उपलब्ध गराइँदै आएको सहयोग रकम बढाएर रु पाँच लाख पुर्याउनुपर्ने सरोकार पक्षले माग गरेको छ । सरकारले अर्बुद, मिर्गौला र मुटुरोग आदिका उपचारमा सहयोग गर्दै आएको छ ।

स्थानीय पालिका र स्वास्थ्य संस्थाका सिफारिसका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोषमार्फत हाल रु एक लाखसम्म त्यस्ता बिरामीलाई उपचार सहयोग प्रदान गर्दै आएको छ । “मेरी आमाको पाठेघरको मुखको अर्बुदको उपचार गराइरहेको छु”, चिकित्सकले रु तीन लाख ५० हजार शुरुमै लाग्छ भन्नुभएको छ”,स्थानीयवासी लोकचन्द्र श्रेष्ठले भने, “शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी र औषधि गर्दै जाँदा खर्च कति लाख पुग्ने हो टुङ्गो हुँदैन । सरकारले रु एक लाख मात्र दिने रहेछ ।”

झापाको ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ले बिहीबार बिर्तामोडमा आयोजना गरेको ‘अर्बुदको रोकथाम तथा न्यूनीकरण’ विषयक अन्तक्र्रियामा सहभागीले बिरामीका आफन्त मात्र होइन स्वास्थ्यमा सरोकार राख्ने सङ्घसंस्था, सञ्चारकर्मी र चिकित्सकले सरकारले विपन्नलाई उपचारमा सघाउने रकम बढाउनुपर्ने धारणा राखेका छन् ।

पूर्वाञ्चल अर्बुद अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले विपन्न नागरिक उपचार कोषले रु पाँच लाख उपलब्ध गराउने हो भने पीडितले उपचारमा राहत महसुस गर्ने बताए । “प्रायः बिरामी तेस्रो वा चौथो चरणमा पुगिसकेपछि ढिलो गरेर अस्पतालमा आउनुहुन्छ, त्यस्तो अवस्थामा उपचार निकै जटिल हुन्छ”, उनी भन्छन्, “विपन्न बिरामीसँग उपचारका लागि पर्याप्त रकम हुँदैन । अस्पतालका तर्फबाट हामीले सर्जरी निःशुल्क पनि गरिदिने गरेका छौँ । औषधिको स्रोत जुटाउन उहाँहरुलाई मुस्किल पर्ने गरेको छ ।”

अत्याधुनिक प्रविधियुक्त पूर्वाञ्चल अर्बुद अस्पताल स्थापना भएपछि पूर्वी नेपालमा अर्बुदको उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटेको उल्लेख गर्दै विर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बलराम कार्कीले राज्यले अर्बुद जस्तो रोग लागेका नागरिकको उपचारमा सहयोग बढाउन कञ्जुस्याइँ गर्न नहुने धारणा व्यक्त गरे ।

“राज्यले स्वास्थ्य, शिक्षा र रोजगारको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने हो, तर त्यसो हुन सकेको छैन”, उनले भने, “अहिले दिइरहेको रु एक लाख रकम अर्बुद्धको उपचारमा थोरै भएको हुँदा बढाएर रु पाँच लाख पुर्याउनु उचित हुन्छ ।”
पूर्वाञ्चल अर्बुद अस्पतालका मेडिकल निर्देशक डा।वीरेन्द्र यादवले जनचेतनाका कमीका कारण अर्बुदका बिरामी अन्तिम अवस्थामा पुगिसकेपछि मात्र अस्पतालमा आइपुग्दा उपचार खर्च बढी हुने गरेको बताए ।

नेपालमा सबैभन्दा बढी नाक, मुख र घाँटीको अर्बुदका बिरामी हुने गरेको जनाउँदै उहाँले हरेक वर्ष पाँच हजारको सङ्ख्यामा नयाँ बिमारी थपिने गरेको बताए । “भरसक अर्बुद लाग्नै नदिने उपाय गर्नुपर्यो, यदि लागिहाल्यो भने पूर्ण उपचार पाउने अवस्था सिर्जना हुनुपर्छ”, उनी भन्छन्, “उपचार गर्ने पैसा छैन भन्दै बिरामी धुरुधुरु रुँदै हामीकहाँ आइपुग्नुहुन्छ । पहिलो स्टेजमै उपचारमा आउनुभएको भए कम खर्च लाग्थ्यो । तर तेस्रो वा चौथो स्टेजमा पुगिसकेपछि उपचारमा जटिलता र खर्च बढेर जान्छ ।”

विपन्न नागरिकलाई रु एक लाख उपचार सहयोग थोरै भएको र बढाएर रु पाँच लाख बनाउनुपर्ने मागमा समर्थन जनाउँदै उनले विपन्नको नाममा धनी व्यक्तिले पनि कोषको सहयोग लिने विकृति चाहिँ रोकिनुपर्ने बताए । राजधानी बाहिर अर्बुदको सबैभन्दा राम्रो उपचार गर्ने पूर्वाञ्चल क्यान्सर अस्पतालले सरकारले दिएको रु एक लाख सहयोगले विपन्न बिरामीको पूर्ण उपचार नहुने भएकै कारण त्यस्ता बिरामीले उपचारबाट बञ्चित हुन नपरोस् भनेर अस्पतालकोतर्फबाट उपचार ट्रस्ट स्थापनाको अवधारणा अघि बढाइएको बताए ।

ट्रस्टमा अस्पतालका सबै चिकित्सक तथा कर्मचारीले पारिश्रमिकको निश्चित रकम जम्मा गर्ने र स्वेच्छिक रुपमा सङ्घसंस्था एवं व्यक्तिलाई सदस्य बनाउने योजना रहेको उनले सुनाए । विश्वसनीय नागरिक समाजका अगुवाकै समिति गठन गरेर निष्पक्ष रुपमा विपन्न अर्बुद बिरामीको पहिचान गरी तिनको उपचारमा सहयोग पुर्याउने ट्रस्टको लक्ष्य रहने डा।यादवले बताए ।

गरीब, असहाय र विपन्न बिरामीको उपचार क्रममा औषधि अभाव हुन नदिन नेपाल औषधि व्यवसायी सङ्घ, रोटरी क्लब र जेसिज जस्ता संस्थाले सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । “हामी विपन्न अवस्थाका अबुद्धका बिरामीलाई औषधि सहयोग पु¥याउन तयार छौँ”, रोटरी क्लब अफ विर्तामोड मिडटाउनका पूर्वअध्यक्ष सन्तोष अग्रवालले भने, “दुर्गम र ग्रामीण क्षेत्रमा अस्पतालसँग मिलेर निःशुल्क स्वास्थ्य शिविर चलाउने रोटरीको योजना छ ।” उनले अहिले झापामै सुविधासम्पन्न अबुद्ध अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि भारत वा काठमाडौँ धाउने पुरानो झन्झट सकिएकामा खुशी व्यक्त गरे ।

विकाससँगै मानिसको जीवनशैलीमा आउने परिवर्तनले पनि अर्बुद रोग बढाइरहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका अध्यक्ष सजेश शिवाकोटीले कोही पनि नागरिकले अर्बुद लागेपछि आर्थिक अभावले उपचारबाट वञ्चित हुन नपरोस् भन्नाका लागि सरकार, अस्पताल र नागरिक समाज सचेत हुनुपर्ने बताए । उनले सरकारले विपन्न नागरिक उपचार कोषको सहयोग बढाउन आवश्यक भएकोसमेत धारणा राखे ।

अन्तक्र्रिया कार्यक्रममा प्रस्तावित बिएण्डसी मेडिकल कलेजका प्राचार्य प्राडा उमेश शर्मा, पूर्वाञ्चल अर्बुद अस्पतालका अर्बुद रोग विशेषज्ञ डा।बजरंग साह, सर्जन डा।मुक्ति देवकोटा र प्याथोलोजिस्ट डा।उज्ज्वल राईले अर्बुद रोगको परिचय, पहिचान, उपचार र अवस्थाका बारेमा प्रस्तुति थियो ।

प्रतिक्रिया दिनुहोस्