साहित्यकार पूर्ण ओलीका २ कथा संग्रह “जितौरी” र “यालमाया” विमोचन कार्यक्रम भव्य रुपमा सम्पन्न



कथाकार पूर्ण ओलीद्वारा लिखित २ वटा कथा सङ्ग्रहहरु जितौरी र यालमाया विमोचन कार्यक्रम राष्ट्रिय महिला आयोगको भवनस्थित हल भद्रकालीप्लाजामा भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

प्राज्ञ डा.देवी नेपालको प्रमुख आतिथ्य रहेको कार्यक्रम साहित्यकार एवम् साझा प्रकाशन सञ्चालक समितिका सदस्य हरिप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा पूर्व गृहमन्त्री जनार्दन शर्मा विशिष्ट अतिथिको रुपमा थिए भने विशेष अतिथिहरुमा पूर्व राज्यमन्त्री गोपालजीजङ शाह, पूर्व शहरी विकास मन्त्री मिठ्ठु मल्ल, राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकाश पुरी, पूर्व एआइजी सुरेन्द्रबहादुर शाह, राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारी, राससका महाप्रबन्धक ओपेन्द्र शर्मा, निबन्धकार युवराज नयाँघरे, समालोचक डा. रजनी ढकाल, साहित्यकार अश्विनी कोइराला, घोष्टराइटिङ नेपालका अध्यक्ष कमल ढकाल, साहित्यकार मनोहर लामिछाने, भुँडीपुराण प्रकाशनका सञ्चालक केशव पराजुली लगायत विभिन्न स्रस्टा तथा साहित्य अभिलाषीहरु उपस्थित थिए ।

फटाहा एकलव्य

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि जनार्दन शर्माले लेखकको चरित्रचित्रण गरे । उनले भने पूर्णजी थोरै बोल्छन्, तर धेरै सोच्छन् । बाहिरबाट झट्ट देखिएका पूर्ण वास्तविक पूर्ण होइनन् । उनलाई भित्रैदेखि अध्ययन गर्नुपर्दछ । सँगै पढ् उनका रचनाहरु धेरै पढ्न सुन्न पाइएको र आफूले सामाजिक विसङ्गति विरुद्ध रचनाहरु सिर्जना गर्न सधैँ घचघच्याइरहेको बताए ।

यसै गरी अर्का विशेष अतिथि गोपालजीजङ्ग शाहले लेखक पूर्ण ओलीको पारिवारिक पृष्ठभूमिको बारेमा बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा देवी नेपालले लेखक पूर्ण ओलीलाई एउटा गह्रौँ पाइला उचालेकोमा धन्यवाद दिँदै ती दुवै पुस्तकहरु एकै रातमा पढिसिध्याएको बताए । उनका दुई पुस्तकमध्ये १३ वटा कथाहरु समेटिएको जितौरी कथासङ्ग्रह, जुन २६४ पृष्ठको छ र १५ वटा कथाहरु समेटिएको यालमाया कथासङ्ग्रह २२१ पृष्ठको छ । उनले आफ्नो लगायत विभिन्न उदाहरणहरु दिँदै एकजना कुशल लेखक एकजना होनहार पाठक पनि हो भन्ने प्रमाण दिए ।

उनले भने, सबै औपचारिक पदहरु भुपू हुन्छन्, तर श्रस्टाहरु कहिल्यै भुपू हुँदैनन् । कृतिहरु पुराना हुँदैनन् । हामी भूपू आदि कवि भानुभक्त आचार्य भन्दैनौँ । हामी भूपु महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्दैनौँ । त्यस्तै गरी लेखक र लेखकका यी दुई पुस्तक साहित्याकाशमा अमर भइरहने बताए । उनले यी दुवै कृतिहरुलाई स्थानीय स्तरमा तुरुन्त समीक्षा गराई राष्ट्रिय पहिचान दिन रुकुमेली सहभागीहरुलाई अत्याए । यस्ता अरु थुप्रै श्रष्टाहरु मुलुकका कुना कन्दरा लुकेर रहेका हुनसक्ने भएकोले तिनीहरुलाई छिट्टो बाहिर निकाल्न रुकुमेलीहरुलाई घचघच्याए ।

पूर्ण ओलीबाट भावार्थ बिस्तार गरिएका पौराणिक ठाडी भाकाहरु (भाग १) 

उनले दुवै कथासङ्ग्रहमा रहेका अधिकांश कथाहरुलाई कथाको सिद्धान्तको कसीमा घोटेर रौँचिरा विश्लेषण गरे । प्रत्येक कथाको कथापट सुन्दर ढङ्गले सिर्जना गर्दै कथाको शीर्षकले खोजेका चरित्रहरुको गजबको चित्रण गरिएको बताए । कथाको शैली र परिवेश मौलिक र स्थानीय शब्दहरुको भरपुर प्रयोग गरिएको बताए । कथा पढ्न थाल्दा पाठकलाई कतै पनि अलमलिन नदिई तान्दै तान्दै अन्तिम बिन्दुसम्म लगिपुर्‍याउँछन् । कथाको विछट्टै गजबको परिस्थितिको विनिर्माण गरिदिन्छन् र पाठकहरुलाई छक्याएर अकस्मात सोच्दै नसोचेको अर्को विकल्पमा प्रवेश गर्छन् । अनि आफूले भन्न खोजेको कुरालाई अन्तिममा छर्लङ्ग्याउँछन् । उनका अधिकांश कथाहरु आशावादी छन् । सुतेकाहरुलाई झकझक्याउँदै ब्युँझाउने खालका छन् । यही नै उनको कथारचनाको सुन्दर पक्ष हुन् भनेर उनले लेखकको प्रशंशा गरे ।

उनले थपे कि, एकजना श्रष्टाले के लेख्दै छु भन्ने कुराको गन्तव्य थाहा हुनुपर्छ । त्यो गन्तव्य आफ्नो निजी गन्तव्य होइन सार्वजनिक गन्तव्य हो । समाजले उठाएको सामाजिक प्रश्नको जवाफ दिन लेखक पटक्कै धरमराउनुहुँदैन । लेख्दा लेख्दै खुट्टा कँपाउनु हुँदैन । श्रष्टाले दिने निश्कर्षले समाजलाई सही बाटो देखाउनुपर्दछ । एकजना शिक्षक र एकजना श्रष्टाले आफ्ना चेलाहरुको अगाडि कदापि निराशावादी कुरा गर्नुहुँदैन । सामाजिक बेथिति र विसङ्गतिप्रति शून्य सहनशीलता कायम गर्नुपर्नेमा उल्टै त्यस्ता गलत प्रवृत्तिहरुलाई मलजल पुग्ने खालका कुनै कुराहरु पनि यी दुवै सामाजिक सारथीहरुले हर्कत गर्नुहुँदैन ।

यसै गरी समालोचक डा रजनी ढकालले जितौरी र यालमायाजस्ता कृतिहरु नेपालमा बिरलै सिर्जना भएका कृतिमध्ये पर्दछन् कथाहरुमा सामाजिक विकृतिहरुलाई नाङ्गेझार पारिएको बताइन् । लेखक शिक्षण पेशा र सरकारी सेवामा लामो समय अनुभव सँगालेका व्यक्ति भएकोले प्रशासनिक विकृतिहरुको सवाल उठाइएको बताइन् । हरेक कथामा सुन्दर एवम् औचित्यपूर्ण बिम्बहरुको प्रयोग गरिएको बताइन् ।

उनलेष मुलुकका कुनाकन्दरामा हराउन थालेका यस्ता स्रस्टा र कथाहरुको संरक्षण र सिर्जनाको खाँचो रहेको बताइन् । उनले पुस्तकमा स्वाभाविक रुपमा केही शाब्दिक तथा भाषिक त्रुटीहरु रहे तापनि यति विशिष्ट कथाहरुको रचना गर्नसक्ने स्रस्टाले जानी जानी त्यस्ता गल्तीहरु गरेको हुनु नपर्ने भन्दै लेखकलाई हौस्याइन् ।

के ठाडी भाका गीत हो ?

यालमाया कथासङ्ग्रहका प्रकाशक तथा प्रसिद्ध कथाकार अश्विनी कोइरालाले यालमायाभित्रका कथाहरुले ओगटेको क्षेत्रको बारेमा बखान गरे । कथाहरुमा मायाको सुन्दर तथा विविध प्रयोग भएको प्रसङ्ग औँल्याउँदै कथाले माया र समाजमा देखा परेका अन्तरविरोधलाई कलात्मक र प्रस्टसँग राख्नसकेको भन्दै लेखकको प्रशंशा गरिन् ।

यसैगरी जितौरी कथासङ्ग्रहको सम्बन्धमा बिचार राख्दै लोक साहित्यकार मनोहर लामिछानेले जितौरीभित्रका कथाहरुको उद्देश्यको साथै कथा सङ्ग्रहले इङ्गित गर्न खोजेको दिशा र सार संक्षेपको बारेमा बखान गरे । उनले कथाहरु सामाजिक त हुँदै हुन् यथार्थवादी र मनोवैज्ञानिक समेत भएको धारणा प्रस्तुत गरे । साहित्य समाजको ऐना हो र लेखक सरकारी जागिरे भएकोले जागिरभित्रका विकृति र विसङ्गतिलाई राम्रोसँग केलाउन सकेको उनले बताए । मुलुक राणा शासन, निर्दलीय शासन, लोकतन्त्र र गणतन्त्रमा प्रवेश गरिसक्दा पनि जसरी लथालिङ्ग भएको छ त्यसको लेखकले गजबसँग खोजपत्ताल गरेका छन् ।

कथाकै माध्यमबाट परिवर्तन हुन नसकेको सामाजिक परिवेशको रौँचिरा विश्लेषण गरिएको बताए । कथामा आञ्चलिक परिवेशहरुका साथसाथै आञ्चलिक चरित्रहरु र शब्दहरुको बेजोड प्रस्तुति रहेको छ । कथाकारले यी विसङ्गतिका वाहकहरुलाई ठाडो गाली नगरी अत्यन्तै सुक्ष्म र मिहिन रुपले कडा प्रहार गर्न सफल भएका छन् । यही नै नवोदित कथाकार पूर्ण ओलीको लेखनको सुन्दर पक्ष हो भनी प्रशंशा गरे ।

लेखकीय मन्तव्य दिँदै कथाकार पूर्ण ओलीले आज नै आफ्नो स्वर्गीय छोरा परिशीलन ओलीको जन्मजयन्ती परेको हुँदा एउटा सन्तानलाई गुमाउँदा परेको असह्य पीडालाई भुलाउन एकैसाथ जितौरी र यालमाया नामका दुई सन्तान जन्माएको बताए । उनले आफू कसरी साहित्यिक महामार्गमा लागेँ भनेर बाल्यकालीन र विद्यालय कालीन रोचक एवम् घतलाग्दा प्रसङ्गहरु सुनाए । उनले भने हामीले कोरेको गन्तव्य के हो ? हामी कहाँनेर अड्किएका छौँ ? भनेर पाठकहरुलाई बुझाउन खोज्नु आफ्ना कथाहरुको उद्देश्य रहेको बताए । यालमायामा प्रेमकथाहरु नभई सामाजिक परिवेशलाई अँगाल्न खोजेको र नारी प्रधान कथाहरु रहेको उनले बताए ।

ठाडी भाकामा पनि कस्ता कस्ता शब्दालङ्कारहरु !

कार्यक्रमको अध्यक्षता गरेका साहित्यकार हरि भण्डारीले लेखकसँग परिचय भएदेखि नै उनीसँग रहेको प्रतिभाको आँकरलन गरी लेखकलाई आफूले सिर्जनशील कार्यमा लागिरहन उक्साएको बताए । लेखेर राखेका फुट्कर रचनाहरुलाई नै सङ्ग्रहित गरी प्रकाशन गर्न आफूले नै अत्याएको र प्रकाशन गर्ने प्रक्रियाहरुको बारेमा उनलाई बताइदिएकोले यी सुन्दर पुस्तकहरुलाई प्रकाशन गर्न मद्द्त पुगेको बताउँदै लेखक, कार्यक्रमका अतिथिहरु र सहभागीहरुलाई धन्यवाद दिएका थिए ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमकी उपाध्यक्ष सिर्जना शर्माले कार्यक्रमको सञ्चालन गरेकी थिइन् भने कार्यक्रममा स्वागत मन्तव्य दिँदै लेखक परिचयको सम्बन्धमा र लेखकको दिवंगत छोराको सम्बन्धमा निशा ओलीले बताएकी थिइन् ।

२६४ पृष्ठ रहेको जितौरीको मूल्य ३९० रुपैँया राखिएको छ भने २२१ पृष्ठ रहेको यालमायाको मूल्य ३५० रुपैयाँ राखिएको छ । प्रकाशकले नै यी पुस्तकहरु बजारमा लैजाने कुरा कार्यक्रम सञ्चालकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्