प्रदेशस्तरीय कोरोना खोप भण्डारगृह शिलान्यास



कास्की । पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डार गृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–१२ राम घाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रको परिसरमा निर्माण हुने सो भण्डार गृहको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे । सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीको रु ७५ लाख तीन हजार ५७३ ९भ्याट बाहेक० लागतमा खोप भण्डार गृह आगामी विसं २०७८ वैशाख १७ गतेभित्रमा निर्माण गरी सक्ने गरी यही फागुन १७ गते न्यू केपी कन्स्ट्रक्सन काठमाडौंसँग ठेक्का सम्झौता गरिएको प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।

रु एक करोड १२ लाख ३६ हजार ४३५ लागत अनुमान रहेकामा सो रकममा निर्माण कम्पनीसँग सम्झौता गरिएको बताइन्छ । निर्देशक खड्काका अनुसार भण्डार गृह निर्माण सम्पन्न भएपछि दुईदेखि आठ सेन्टीग्रेट तापक्रममा ४० लाख जनसङ्ख्यालाई पुग्ने खोप व्यवस्थितरुपमा भण्डारण गर्न सकिनेछ । कोरोना महामारी अन्त्यपछि सो गृहलाई अन्य खोपको भण्डार गृहका रुपमा विकास गर्ने योजना रहेको जनाइएको छ ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले कोरोना महामारीपछि स्वास्थ्य संरचना, उपकरण तथा जनशक्ति व्यवस्थापनमा राज्यले ठूलो लगानी गरेको बताए । देशका ३९६ स्थानीय तहमा एकैपटक अस्पताल भवन शिलान्यास गरिनु स्वास्थ्य क्षेत्रमा राज्यले गरेको ऐतिहासिक कार्य रहेको चर्चा गरे ।

गण्डकी प्रदेशका ११ जिल्ला अस्पताल र एउटा प्रदेश सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई शुरुआतदेखि नै सुदृढीकरणका लागि सरकारले काम गरेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले पूर्वाधार, जनशक्ति, स्वास्थ्य उपकरण, उपकरण सुविधासम्पन्न बनाइएको उल्लेख गरे । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरेर निर्वाचनका लागि गरेको सिफारिस सर्वोच्च अदालतले उल्टाइ दिएपछि संसदभित्र सांसद खरिद बिक्री शुरु भएको र हरेक पार्टीभित्र विवाद सिर्जना भएर अस्थिरता शुरु भएको मुख्यमन्त्रीले बताए ।

उनले भने– “संसद् पुनःस्थापनाले कांग्रेस, जनता समाजवादलगायत हरेक पार्टीभित्र विवाद र गुटबन्दी देखिएको छ । हरेक पार्टीभित्र विवाद शुरु भएको छ । चुनावमा जानुपर्दछ भन्ने सिफारिस सर्वोच्चले उल्टाइदिएर हामीलाई मन नपरे पनि न्यायपालिकाको निर्णयलाई शिरोधार्य गरेर कार्यान्वयन गर्न सरकार लागि परेको छ ।” नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले भावनात्मक रुपमा फुटेको पार्टीलाई जुटाउन सकिन्छ की भनेर आफूहरूले विकल्प खोजी गरिरहेको जानकारी दिए । उनले भने, “मुलुकको अस्थिरता अन्त्यका लागि ६४ प्रतिशत बहुमत प्राप्त नेकपाको सरकारलाई एकताबद्ध बनाएर स्थिरताको प्रत्याभूति दिन सबैले आवाज उठाउनुपर्दछ ।”

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले सङ्घीय सरकारले रु २६ करोड ५० लाख लागतमा ५० श्ययाको अस्पताल बनाउनका लागि बजेट उपलब्ध गराएको बताउँदै प्रदेश सरकारले त्यसमा थप लगानी गरेर १०० श्ययाको अस्पताल निर्माणको योजना अघि बढाएको जानकारी दिइन् । खोप भण्डार गृहसँगै प्रदेश प्रयोगशाला, औषधि भण्डारण गृहलगायत संरचना निर्माणका लागि बजेट सुनिश्चित गरिएकाले डिजाइन तयार भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्