युद्धमोर्चाको सुपरस्टार शहीद सँगका क्षणहरु



यो गाथा तपाईहरुमध्ये उनीहरुका लागि हो, जो जिन्दगीलाई प्यार गर्दछन् र स्वतन्त्रतापूर्वक जिउन चाहन्छन् । तपाईहरु सवैका लागि होइन तपाईहरुमध्ये केवल तिनीहरुका लागि हो, जो सधैँ अन्यायपूर्ण र गलत कार्यको घृणा गर्दछन् । हावर्ड फास्टले करोडौँ आशावादी मानिसहरुको भविष्यका लागि भनेझैं वास्तवमा मेरो साथी, जनमुक्ति सेनाको कुशल कमाण्डर, प्रिय शहीद जीतको गाथा पनि वास्तवमा क्रान्ति, मुक्ति र स्वतन्त्रताप्रेमीका लागि हो ।

सर्वप्रथम मेरो र जीतको चिनजान कुनै मितेरी खोज्दै, थर, गोत्र र प्रवर खोज्दै भएको होइन । सानो टुकुडीले लाठी, खुकुरी र घंघारुबाट प्रारम्भ गरेको युद्ध जिल्ला सदरमुकाम कब्जा गर्ने उचाइँमा पुगे पछि भयो । २०५७ असोज ७ मा डोल्पाको सदरमुकाम दुनै आक्रमणका लागि जनमुक्ति सेनाको पश्चिमी सैन्य केन्द्रीकरण हुँदा भएको हो ।

जाजरकोट र डोल्पाको भेग मिल्ने भएकोले तयारीको मूलभूमिकामा क. जीत हुनुहुन्थ्यो । हुन त समान भूमिका र समान हैसियतमा आ–आफ्नो ठाउँबाट जनयुद्धमा हामी अग्रणी भूमिकामै थियौँ । तैपनि हाम्रो सहकार्य दुनैका लागि गरिएको केन्द्रीकरणले नै जुटायो ।

त्यसवेला क. जीत माओवादी सेनाको ९ नंं. प्लाटुनको कमाण्डर हुनुहुन्थ्यो भने म धौलागिरी–लुम्बिनी उपक्षेत्रमा रहेको ६ नं. प्लाटुनको कमाण्डर थिएँ । त्यसताका एक स्थायी कम्पनी थियो, त्यसको कम्पनी कमिसार क. अनन्त, कम्पनी कमाण्डर क. पाषाङ र कम्पनी सहकमाण्डर क. राजेश हुनुहुन्थ्यो । कम्पनीमा ३ प्लाटुनहरु १, २ र ३ कार्यरत थिए जसलाई मुख्य शक्ति भनिन्थ्यो । साथै भेरी–कर्णाली उपक्षेत्रमा ४ र ५ नं. प्लाटुनहरु क्रियाशील थिए ।

दुनै आक्रमण हाम्रा लागि पहिलो केन्द्रिकृत र उच्च फौजी कारवाही रह्यो । आ–आफनो क्षेत्रमा कार्यरत प्लाटुनहरु महिनैसम्म एकत्रित हुँदा एकखालको उत्सवजस्तो बन्यो । मौसमी प्रतिकूलता, भौगोलिक कठिनाई, रासनपानीको सप्लाइको समस्या र क्षण क्षणमा परिवर्तन हुने परिस्थितिका वावजुद २०५७ असोज ७ मा डोल्पाको सदरमुकाम दुनै मात्र कव्जा भएन, वैंक कव्जाले आर्थिक रुपमा गुणात्मक सफलता हात लागेको थियो । माओवादी सेनाको पहिलो पटक जिल्लाका सदरमुकाममाथि गरेको ऐतिहासिक आक्रमणबाट क. जीतसंग समिपको सहकार्यको थालनी भएको थियो ।

दुनैपछि हामीले वाग्लुङको झिवाखोला प्रहरी चौकी कव्जा गर्दै गर्दा वहाँहरुले कालीकोटको कोटवाडा चौकी कव्जा गर्नुभयो । हामीले रुकुमको रुकुमकोट चौकी कब्जा गर्दैगर्दा वहाँहरुले दैलेखको नौमुले चौकी कब्जा गर्नुभयो । पश्चिम कमाण्डको पूर्वि मोर्चामा म थिए भने पश्चिमी मोर्चामा वहाँहरु हुनुहुन्थ्यो ।

२०५८ आषाढको होलेरी आक्रमण दोश्रो केन्द्रिकरण बन्न गयो । प्रहरीमाथिको निर्णायक आक्रमणका लागि दाङमा हामी केन्द्रीत भयौं । भालुवाङ्गमा रहेको प्रहरीको ट्रेनिङ्ग सेन्टरलाई टार्गेट बनाएर रेकी शुरु गर्यौँ । त्यहाँ प्रहरीलाई एसएलआरको प्रयोग गर्ने तालिम दिइन्थ्यो । अव राज्यको मुख्य फोर्स शाही सेनासंग लड्नुको विकल्प छैन भन्ने हाम्रो निष्कर्ष थियो । त्यसैले शाही सेनाले चलाउने हतियार एसएलआर कब्जा गर्ने उद्देश्यसहित भालुवाङ्ग टार्गेट बनाएका थियौँ ।

हतियार प्राप्तिका तीन तरिकाहरु थिए – १) दुश्मनबाट कब्जा गर्नु, २) निर्माण गर्नु र ३) किन्नु । माओवादी बमका नामले चिनिने होम मेड बममा त हामी पारङ्गत नै थियाैँ । हतियार मर्मतसम्म हाम्रा प्राविधिक पोख्त थिए तर एसएलआरभन्दा माथिका हतियार न वनाउन सम्भव न किन्न नै सम्भव, त्यसैले प्राप्तिको विकल्प केवल कब्जा मात्र थियो तर योजना खुलेको भएर होला भालुवाङमा १ टुकडी सेना राखियो । पुनः कमाण्डर ग्रुपबीच छलफलपश्चात अञ्चल सदरमुकामसमेत रहेको तुल्सीपुर कब्जा गर्ने योजनाका साथ रेकीमा लाग्यौँ भने फोर्स केन्द्रीकरण पनि गर्दै गयौं । अन्ततः त्यो योजना पनि खुल्न गई आक्रमण असम्भव भयो । प्रहरीमाथिको लडाई टुङ्गग्याउने निर्णायक लडाई हामीले सोचेको जस्तो नबन्ने र २०५८ असार २८ मा नेपाल बन्दको कार्यक्रममा निर्णायक हस्तक्षेप गर्नुपर्ने बाध्यताका बीच, निर्णायक हमलालाई पुनः पछि सार्दै तत्काललाई रोल्पाको होलेरीमा रहेको प्रहरी बेस क्याम्पलाई स्वीप अट्याक गर्ने निष्कर्षअनुसार विना कुनै रेकी २०५८ असार २८ गते विहान होलेरी बजार घेरी ७३ जना प्रहरी मध्ये ७१ प्रहरीलाई कब्जामा लियौँ, १ जना भीडन्तमा मारिए भने एक घाईते प्रहरीलाई ट्याक्टर चढाएर उपचारका लागि घोराही पठायौं । यसमा पनि हामी क. जीतसंग सँगसंँगै लड्यौं ।

अन्ततः यही होलेरी आक्रमण नै प्रहरी माथिको निर्णायक आक्रमण सावित भयो । र तत्कालिन गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले सेना परिचालनको आदेश दियो ।

२०५८ आसार २९ गते विहानै तत्कालीन शाही सेनाले हेलिकप्टरबाट आफ्नो ट्रूप्स हाम्रो लोकेसन वरपर ड्रप गर्यो । हामी बसेको ठाउँमा हेली ल्याण्ड गर्ने कोशिस गर्यो । हामीले नचाहँदा नचाहँदै सेनासंग फष्ट फायर खुल्यो । हेलीमाथि आपतकालीन हमला हुनुका साथै फिल्डमा भएको शाही सेनासंग आमनेसामने भयो । परम्परागत लडाईको अर्थात प्रहरीसंगको लडाईको समाप्तीको उद्घोष सहित यो आम्नेसाम्नेको अन्त्य भयो । जहाँ क जीतसंग आ–आफ्नो कमाण्ड समालिरहेका थियाैँ ।

अन्ततः यो घटना पश्चात तत्कालीन प्र.म. गिरिजाप्रसाद कोइरालाले राजीनामा दिए । स्थितिले कोल्टे फेर्यो र पहिलो शान्तिवार्ताको स्थिति पैदा भयो ।

यो अवस्था राज्यका लागि नीतिगत रुपमा सेना परिचालनको वातावरण बनाउनु थियो भने माओवादीका लागि राज्यको निर्णायक फोर्स शाही सेनाको सामनाको तयारी गर्नुथियो ।

शान्ति वार्ताका वेला माओवादी सेनाको क्षमता वृद्धिका लागि कमाण्डस्तरीय तालीम रोल्पाको थवाङ्गमा आयोजना गरियाे जसमा मुख्य फोर्स र क्षेत्रगत फोर्सका कमाण्डरहरुको सहभागिता थियो ।

ट्रेनिङपश्चात शान्तिवार्ताकै वीच पार्टीले रोल्पाको उपावाङमा सैन्य राष्ट्रिय भेलाको आयोजना गर्यो जसले मावोवादीको सेनाको नाम जनमुक्ति सेना, नेपाल राख्यो र सैन्य फर्मेसनलाई वटालियन स्तरमा उठाउँदै सैन्य रणनीतिको स्पष्ट मार्ग निर्देशन गर्यो ।

सैन्य राष्ट्रिय भेला पश्चात गठित बटालियनमा क. जीत ‘ए’ कम्पनी सहकमाण्डर हुनु भयो भने म ‘सी’ कम्पनीको सहकमाण्डर भएँ । २०५८ को कार्तिकमा वटालियनको पुनर्गठन हुँदा क. जीत ए कम्पनीको कमाण्डर र म वि कम्पनीको कमाण्डर भयौँ ।

२०५८ मंसिर ८ गते पश्चिम कमाण्डमा घोराही, मध्य कमाण्डमा स्याङ्जा तथा पूर्वी कमाण्डमा सल्लेरीमाथि एकै पटक एकै समयमा आक्रमण गर्ने योजनाअनुरुप आक्रमण भयो । यो २०५२ फाल्गुन १ पछिको अझ उच्चस्तरको विद्रोह थियो किनकी राज्यको मुख्य सैनिक फोर्स शाही सेनामाथि आक्रमणको थालनी गरिएको थियो साथै जनमुक्ति सेना, नेपालको औपचारिक उद्घोष पनि यही दिन भएको थियो ।

यस क्रममा क. जीत र म घोराहीमा रहेको सेना व्यारेक माथिको आक्रमणमा सहायक कमाण्डमा थियौँ । जो जनमुक्ति सेना नेपालको लागि पूनरक्तसंचार सावित भयो ।

त्यसपश्चात रोल्पाको रातमाटे टेलिफोन टावर र सल्यानको कपुरकोटमा रहेको शाही सेनामाथि आक्रमण गर्यौं । म रातमाटेमा थिएँभने क. जीत कपुरकोटमा हुनुहुन्थ्यो । दुवै आक्रमणमा हामी सफल हुन सकेनौँ ।

देशमा संकटकाल लागेको थियो भने मध्य कमाण्ड लगभग तहसनहस भएको अवस्था थियो । पूर्वी कमाण्डमा पनि पहल आउने स्थिति नरहेको अवस्थामा हामी रहेको पश्चिम कमाण्डले एउटा सफल आक्रमण गर्नुपर्ने वाध्यता थियो । २०५८ माघको पहिलो साता हामी दैलेखमा पुनःकेन्द्रित भयौं । क. जीतलगायत हामी गम्भीर समीक्षा र छलफलका साथ नयाँ योजनामा जुट्यौं ।

दैलेख, कालिकोट, जुम्लालगायतका सेना व्यारेकहरु सर्वे गर्याे र अन्ततः अछाममा आक्रमणको निशाना बनायौं । पश्चिम कमाण्डमा कार्यरत हाम्रो सवल फोर्सको केन्द्रिकरणद्वारा अछाममाथि आक्रमण गर्ने योजना बनायौं । जसमा क. जीतलगातयका कमाण्डरहरुको टोलीले शाही सेनाको व्यारेकमाथि आक्रमण गर्ने ग्रुपमा तथा मलगायतले जि.प्र.कालगायतमा आक्रमण गर्ने ग्रुपमा र अर्काे फोर्सले साँफेवगर आक्रमण गर्ने जिम्मा पर्यो ।

सम्पूर्ण तयारीका साथ अछाममा २०५८ फल्गुन ४ मा आक्रमण गर्याे । आक्रमण सफल भयो तर वटालियनका ३ वटै कम्पनी कमाण्डरहरु म, क. जीत र क. महान घाइते भयौँ । अछाममा म लगभग सेनामा अशक्त हुने गरी घाइते भएँ भने क. जीतलाई खुट्टामा गोली लागेको थियो । हुन त वहाँलाई छाती मै गोली लागेको हो तर छातीमा रहेको एके फोर्टिसेभेनको म्याग्जिनमा लाग्नाले वहाँ जोगिनुभएको थियो । अछाम कव्जा भयो । पूनः पश्चिम कमाण्डले पहलकदमी लियो ।

अछाम पछि म लामो समय उपचारमै रहन वाध्य भएँ । त्यस समयमा रोल्पाको लिस्नेमा भीडन्त भयो । रोल्पाकै गामको शाही सेनाको बेस कब्जा भयो साथै रुकुमको खारा (पहिलो)मा आक्रमण भयो, जहाँ कमरेड जीतको भूमिका अतुलनीय रह्यो ।

२०५९ साल श्रावणमा वटालीयन स्तरको संरचनालाई ब्रिगेड स्तरमा उठाउने निर्णय भयो र एउटा वटालियन सह–कमाण्डरमा क.जीतलाई जिम्मा दिइयो । म भने ब्रिगेड कार्यालयको कार्यालय सचिवमा कार्यरत रहने भएँ । त्यसपश्चात स्वास्थ्यका कारण मेरो भूमिका सहयोगी र वहाँको भूमिका अग्रमोर्चामा बन्दै गयो ।

वर्गप्रेम र यौद्धिक आत्मियता

समान हैसियत र एउटै फर्मेसनमा काम गर्ने अवस्था भएर हाम्रो बीचमा अत्यन्तै घनिष्ट सम्वन्ध थियो । हुनत क. जीतसंग सवैको नै घनिष्ट सम्बन्ध थियो । तर हामी योजना वनाउने, टार्गेटहरुको संगसंगै रेकी गर्ने, समीक्षा गर्ने, फोर्स फर्मिङ गर्ने, कमाण्ड सेटिङ गर्ने तथा पहलकदमीका लागि विक प्वाइन्ट र सपोर्टिभ अनि इफेक्टिभ प्वाइन्ट र कन्डिसनहरुको गहन, छलफल र वहसहरु चल्थ्यो । आक्रमण गथ्र्याै, अनि फेरी समीक्षा चल्थ्यो फर्मेशनहरुको पूनःसंरचना बनाउथ्यौँ किनकी हरेक मोर्चामा कुनै न कुनै क्षती उठाएका हुन्थ्यौँ या त नयाँ पहलकदमीका लागि कमाण्ड र फोर्सको पूनः विन्यास हुन्थ्यो ।

हाम्रो उद्देश्य नयाँ आक्रमणहरुद्वारा पहलकदमी लिनु, हतियार कब्जा गरी फोर्सलाई थप सशस्त्र गराउनु र सेनाको गुण उठाउनु तथा फर्मेशनको विकास गर्नुमा हुन्थ्यो । हाम्रा छलफलहरु विगतको समीक्षातर्फ, परिस्थितिको मूल्याङ्कन गर्नु र त्यसैअनुसार अगाडि बढ्ने योजना वनाउनुमा केन्द्रीत हुन्थ्यो ।

हाम्रा बीचमा गम्भीर छलफलहरु चल्थ्यो । युद्धलाई अन्तसम्म लैजान देखिएको चुनौतिहरुमाथि गम्थ्यांै । पहिलो चरणमा देखापरेका समस्याहरु खास गरी पारंगत बनाइएका कमाण्डर र अगुवा कमरेडहरुमा देखापर्ने पलायनता र विचलन अनि फोर्सको आकारमा हुने वृद्धिसंगै पैदाहुने समस्याहरुको सामनाजस्तै कमाण्ड समस्या, विषयगत गम्भीरताका समस्याबारे छलफल चल्थ्यो । प्रहरीसंगको लडाईको अनुभवहरु, हाम्रा ट्रेनिङ्गहरु अनि कमाण्ड स्टाइलका वारेमा छलफल चल्थ्यो । त्यसवेलासम्म अनुभवले पोख्त थियौ तर अनुभवहरुको संकेन्द्रण र संश्लेषण गर्न बाँकी थियो । हाम्रा तालिमहरु निकै पेचिला त भएका थिए तर तिनलाई श्रेष्ठीकरण र व्यवहारिक वनाउन जरुरी थियो । प्राविधिक क्षेत्रमा राम्रो प्रगति भएपनि अनुभवको कमी तथा लापरवाहीले निकै क्षति भइरहेको थियो । यिनलाई सिस्टमेटिक वनाउनु थियो ।

मुख्यतः कमाण्ड शैलीमा समस्या थियो । फर्मेशनको विकास र विस्तार हुने त्यसैअनुसार कमाण्ड दिने तर श्रृखंलावद्ध कमाण्डको ट्रेनिङ्को बिकास गर्न नसक्दा गम्भीर समस्याहरु आउँथे । जस्तोकि जिम्मेवारी दिएपछि अनुभव र ट्रनिङ्गको अभावमा या त हतोत्साहित हुने या स्वेच्छाचारी भएर आफ्नै धुनमा काम गर्ने । हातमा बन्दुक थमाइएकाहरुले सही सही कमाण्ड र काम नगर्दा निकै गम्भीर समस्या र संकटहरु आउथ्यो । यसप्रति गम्भीर वहस छलफल चल्थ्यो हाम्रो वीचमा ।

पहिलो शान्तिवार्ताको समयमा यी समस्याहरुलाई सम्वोधन गर्ने कोशिस भयो । पहिलो पटक आधारभुत कमाण्डर तालिम संचालन गर्याै‌। नियमित रुपमा एकै फर्मेसनमा काम गर्ने अवसरले नियमित छलफलमा रह्याैँ । सैन्य राष्ट्रिय भेलाले विकेन्द्रीत फर्मेसनलाई केन्द्रीकृत वनायो र एउटा स्पष्ट नामाकरण दियो । तर अझै पनि अनुभव र स्प्रिटमा भर पर्नुपर्ने थियो । किनकी सेनाको विस्तार गर्दै गर्दा स्पष्ट कमाण्ड ट्रेनिङ्गहरु नहुँदा स्प्रिटमा भरपर्नु पर्थ्यो ।

युद्धवाट युद्ध सिक्ने, व्यवहारवाट ज्ञानप्राप्त गर्ने कडीसम्म त हामी सही नै थियाैँ । फेरी पनि समस्याहरुका वारेमा हाम्रा बीचमा औपचारिक अनौपचारिक छलफलहरु गभ्भीरतापूर्वक चलाउँथ्यौँ । किनकी युद्धमा सानो गल्तीको पश्चाताप रगत वगाएर गर्नुपथ्र्याे ।

दोश्रो चरणमा शाही सेनासंगको लडाईले गम्भीर स्थितिको सिर्जना गर्यो । घोराही आक्रमणमा हामीले हार्न मिल्दैनथ्यो । गम्भीर र सूक्ष्म अध्ययनपश्चात योजनामा लड्यौँ । हाम्रो कमाण्डको गम्भीरताको अवस्था, हाम्रो फोर्सको स्थिति, अनुभव र मनोविज्ञान सवै ख्याल गरेर गहन छलफल गरी कारवाहीको फर्मिङ गर्यौं । अन्ततः जित्यौं पनि ।

जव संकटकाल लाग्यो । सेना फिल्डमा आयो । हामी गम्भीर छलफलका साथ योजनाहरुमा केन्द्रीकृत भयौं । क. जीत लगायत हाम्रो जोड रक्षामा विकेन्द्रीकरण र आक्रमणमा केन्द्रीकरणको रणनीतिको अख्तियारी गर्नुपर्छ भन्यौं । तर छलफलमा हाम्रो मत सवल भएन । अन्ततः विकेन्द्रीत आक्रमणको योजना वनाइयो । परिणामतः सल्यानको कपुरकोट र रोल्पाको रातमाटेमा गम्भीर धक्का खायौं । हाम्रो होनहार कमाण्डर र योद्धाहरु गुमायौं, जसको परिणाम जनमुक्ति सेना नेपालको मनोविज्ञानमा गहिरो असर पर्यो ।

दैलेखमा गरिएको समीक्षा जसमा क. जीत लगायत कमाण्ड ग्रुप थियौं । त्यसले गम्भीर संश्लेषणसहित नयाँ योजना वनाउने र पुनः एक पटक नहार्ने योजना वनाउने निष्कर्षमा पुग्यौं । त्यसअनुसार दैलेखको प्रारम्भिक रेकी गर्यौं । यो लडाई लड्न नहुने निष्कर्षका साथ अछाम आक्रमणको योजना बनायौं । दैलेख, कालीकोट र जुम्लामा हल्ला मच्चाउने र अछाम आक्रमण गर्ने, जहाँ दुश्मनको तत्काल केन्द्रीकरण सम्भव हुन्न भन्ने निष्कर्षसहित योजना बनायौं र सफल पनि भयौं ।

आखिर किन घाइते भयौं त कमाण्डरहरु नै अछाममा ? जव दुश्मनले हायलकायल वनाउँछ, सेनाको मनोवल कमजोर हुन्छ । जव सेना ठीकसंग लड्दैन । कमाण्डरले फिल्ड सम्हालेर पहलकदमी लिनुपर्छ । ठीक यही भयो अछाममा । अछामको लडाईमा कमाण्डर घाइते भयौँ । केही कमाण्डरले शहादत प्राप्त गरे ।

एकातिर क्रिम फोर्सको गम्भीर क्षती, अर्कोतिर फर्मेसनलाई अप गर्नुपर्ने वाध्यकारी अवस्था । यो निकै अन्तरविरोधी परिस्थिति थियो । सवै योजनाहरु सफल हुँदैनन् । अछामको कारवाहीले पहल लियो । म भने पखेटा काटिएको चरा झैँ भएँ ।

२०५९ को असारमा वल्ल कमरेड जीतसंग भेट भयो । तवसम्म खाराको असफल आक्रमण भैसकेको थियो । म त घाइते थिएँ नै तवसम्म घाइतेहरुको अवस्था घाममा विस्कुन सुकाएझैँ भएको थियो । हाम्रा बीचमा पुनः अन्तरंग छलफलहरु चल्यो । मृत्युलाई स्वीकारेका हामीहरु आफ्नो वारेमा खासै जिज्ञासा हुन्थेन । खाली युद्धमा पहलकदमीका कुरा हुन्थ्यो ।

२०५९ श्रावणमा ब्रिगेडको गठन पछि म कार्यालयमा भए । वहाँहरु फिल्डमा । भेट हुँदा र बैठक प्रशिक्षणका क्रममा हाम्रा बाँकी समयहरु युद्धमा पहलकदमी कायम गर्ने, सेनाको स्तर उठाउनेमा नै केन्द्रित हुन्थ्यो । पछिल्लो समय विभागहरुको निर्माणसंगै विभागीय कामहरुलाई व्यवस्थापन गर्न छलफल गर्यौं । प्राविधिक विभाग, स्वास्थ्य विभाग, सप्लाइ विभाग, संचार विभाग, टे«निङ्ग विभाग, जनसम्पर्क विभागहरु बनायौं । फर्मेसनमा विभागहरु क्रमशः स्थापित गर्यौँ ।

अर्घाखाँची कारवाही र जुम्ला कारवाही सानो र ठूलो धक्काको रुपमा योजना वन्यो । अर्घाखाँची जित्यौ, जुम्ला जित्न सकेनौं । जो हाम्रो लागि रणनीतिक रुपले प्रतिधक्का वन्न गयो । सोझो बाटोलाई घुमाउनु पर्ने भयो र विकेन्द्रीत कारवाहीमा जानुपर्ने भयो । जुम्ला कारवाहीमा केही गम्भीर चुनौतिहरु थिए । क. जीतलगायत हामीले योजना मै कुरा उठायौं । त्यो सम्वोधन गर्न सकेनौं भने त्यसैक्रममा प्राकृतिक प्रतिकूलता (८ जना कमरेडहरु हिउँमा डुवेर मर्नुपर्ने अवस्था) र भौगोलिक ज्ञानको अभावमा प्रतिकूलतालाई अनुकूलतामा बदल्न नसक्दा एक खालको प्रतिधक्का बेहोर्नु पर्यो । शाही सेनालाई व्यारेकमा सीमित गर्ने उद्देश्यका साथ बिकेन्द्रीत कारवाहीद्वारा पहलकदमी पैदा गर्ने नयाँ रणनीति तय भयो र निर्णायक हमलाका लागि घनिभूत तयारी गर्ने योजना बन्यो । योजनाअनुरुप विकेन्द्रीत कारवाहीहरुबाट क्रमशः पहल आउँदै गयो । पूर्व पश्चिम मोर्चालाई व्यवस्थित वनाउन नयाँ नयाँ योजनाहरु वने । कमाण्डको व्यवस्थापन भयो । फर्मेशनलाई डिभिजन स्तरमा उठाउने काम भयो ।

क. जीत अविजित योद्धा हुनुहुन्थ्यो, आफ्नो कमाण्डलाई प्रभावकारी र व्यवस्थित गर्न सक्षम हुनुहुन्थ्यो । वहाँको साहसिक लडाई, कमाण्ड तथा पहलकदमीले हाम्रो लडाईको स्तरलाई उठाउन निर्णायक भूमिका खेल्यो । विकेन्द्रीत कारवाहीमा त्यो शानदार रुपमा प्रकट गर्नुभयो । खासगरी खैरीखोला आसपासका श्रृंखलाबद्ध एम्बुस तथा आक्रमणहरुबाट विशेष पहलकदमी लिनुभयो ।

विकेन्द्रीत कारवाहीका अलवा हामीले एउटा केन्द्रीत कारवाहीको तयारीमा जुट्यौ । योजनागत छलफलहरु भए, त्यसलाई कसरी लन्च गर्ने भन्नेभयो । त्यससंग संबन्धित योजना तथा छलफलमा सहभागी भयौं । विगतका अनुभवहरुको समीक्षासहित घनिभूत छलफलमा जुट्यौं । एकातिर फोर्सको केन्द्रीकरण र ब्यवस्थापन अर्कोतिर टारगेट प्वाइन्टहरुको रेकी र दुश्मनको अवस्थितिको आँकलन गर्नु थियो । लडाइको ब्यवस्थापन चानचुने कुरा थिएन ।

अन्ततः म्याग्दीको सदरमुकाम बेनीमा आक्रमणको योजना बनायौं । त्यसका लागि झण्डैं ५ हजार फोर्स केन्द्रीकरण गर्यौं । जसका लागि दैनिक २० औं कुइन्टल चामलको जरुरत पथ्र्यो । लडाइका लागि कम्तीमा १ व्यक्ति १ ग्रिनेड गर्दा पनि ५ हजार ग्रिनेड हामीलाई आवश्यक पर्थ्र्यो । हाम्रो अगाडि २ वटा चुनौतीहरु थिए । पहिलो फर्टिफिकेशन तोड्ने, अनुभब र व्यक्तिगत अफेन्समा कमी थिएन । खासगरी भियतनाम लडाईपछि छापामारको विशेषतालाई ध्यानमा राखी विकास गरिएको रणनितीक आधारमा फर्टिफिकेशन वनाइएको थियो । काँडेतारवार, जाली, टनेल, पत्रपत्रको डिफेन्स पोष्टसहित बनाइएको शाही सेनाको फर्टिफिकेशन तोड्ने साधन हामीसंग थिएन । घोराहीवाट लिएका रकेट लन्चरहरु थिए तर सेल थिएन । बारुदी ब्यवस्थापनमा हाम्रो कमजोरी सावित भयो । हामीले हाते बम तथा इम्प्रेसिभ माइनहरु त बनायौं तर राउन्ड वुलेट निर्माणमा न त पहल लिन सक्यौं न त प्राप्तिका श्रोतहरु सहज थियो । यही हाम्रो कमजोरी थियो ।

दोश्रो, सर्पोटका लागि आउने बख्तरवन्द गाडीहरु ठेगान लगाउने हतियार हामीसंग थिएन तसर्थ लडाई लम्ब्याउन असमर्थ थियौं । तेश्रो, हवाई सर्पाेटमा आउने नाइट भिजन तथा फाइटर हेलिकप्टेर कन्ट्रोल गर्ने साधन हामीसंग थिएन यसमा पनि हामी कमजोर थियौं ।

बेनी आक्रमणका बेला यो बारेमा गम्भीर छलफल चल्यो । हाइ कमाण्डबाट ब्यवस्थापन गरिने आश्वासन आयो तर लडाईको अन्त्यसम्म त्यसको व्यवस्थापन भएन । हामी फर्मिङ प्वाइन्टमा आएको बेला दुईवटा टिटिएस बम हान्ने गन आए । एन्टी एयर क्राफ्ट भनेको जावो टिटिएस यो पनि सेल जम्मा ४÷५ वटा, निकै गम्भीर भयौं ।

अन्ततः वेनी आक्रमण गर्यौं । पूर्णरुपमा वेनी जित्न सकेनौं । २/२ जना ब्रिगेडका सह–कमाण्डर लगायत फर्किदासम्म ११४ जनाको शहादत भयो । ४४७ जना साथीहरु यो वा त्यो रुपमा घाइते हुनुभयो । त्यसमध्ये ५८ जनालाई त स्ट्रेचरमा राखेर लानुपर्ने अवस्था आयो । यसकारण सवभन्दा अन्तिमसम्म क. जितले लडाउनु भएको थियो । वहाँले कमाण्ड गरेको ब्रिगेडको ब्रिगेड सह–कमाण्डर नै ढल्नुभयो ।

वस्तुतः स्थितिले प्रमाणित गर्यो कि जनमुक्ति सेनामा मनोवल र आक्रामकतामा कहीं कमी थिएन । केवल प्रविधि हाम्रो कमजोरी बन्नगयो । आक्रमणको स्तरले हामी अझ सवल त भयौ तर फर्टिपिकेशन हाम्रो लागि फलामे चिउरा बन्दै गयो ।

निर्णायक वनाउन खोजेको आक्रमणहरु फितलो हुँदै जाँदा पार्टीभित्र अन्तरघात र अन्तरविरोधहरु देखा परे । आत्मीय भनिएका कमरेडहरुले घात गर्दा ठाउँ ठाउँमा क्षति भयो । माहिर भनिएका योद्धाहरु दुश्मनको कब्जामा परेपछि गरेका आत्मसमर्पण र गद्दारीले सेनाको मनोवल कमजोर बन्दै गरेको वेला पार्टीभित्र देखा परेको यो वा त्यो रुपका अन्तसंघर्षहरुले हाम्रो लड्ने क्षमतामा केही ह्रास ल्याउँदै थियो ।

इन्डियामा क. प्रचण्ड झण्डै समातिएको स्थितिले गम्भीर तुल्याएको थियो । एकातिर लडाईमा आएका चुनौतीहरुलाई व्यवस्थापन गर्ने अर्कोतर्फ नेतृत्वको रक्षा गर्ने कुरा । क. जीतलगायत हामी जनमुक्ति सेनाको कमाण्डरहरुको बीचमा नेतृत्वको रक्षा कसरी गर्ने भनेर गम्भीर छलफल चल्थ्यो ।

रोल्पाको फुन्टीवाङ वैठक र रुकुमको लावाङ वैठकमा पहिलो घेराको सुरक्षामा क. जीत संगसंगै हामी पनि थियौं । लावाङ्ग वैठकले क. बाबुराममाथि कारवाही गर्यो । त्यो पदीय कारवाही मात्र थियो तर यसलाई अफवाह वनाइयोकी क. बाबुरामहरु पिएलएको कस्टडीमा हुनुहुन्छ, वास्तविकता त्यो थिएन । क. प्रचण्ड र क. वावुरामको सुरक्षा व्यवस्था क. जीतलगायत हाम्रै हातमा थियो । ससम्मान समान ब्यवस्थापनमा वहाँहरुलाई राख्यौं तर यो सत्य कुराका वारेमा आजपर्यन्त वावुरामजीले लुकाउनु मात्र भएको छैन बरु त्यसै गरिएको आसयमा कुरा गर्नुलाई म राजनीतिक एवम् नैतिक वैमानी ठान्दछु ।

अन्ततः वर्दिया गणेशपुर भीडन्तमा क. जीतको शहादत भयो । यसले वहाँका सहयोद्धा हामीहरुलाई मर्माहत त तुल्यायो नै । जनयुद्धका एक होनहार कमाण्डर र पहलकर्ताको क्षतीले जनयुद्धलाई अतुलनीय क्षति पुर्यायो । हामीले जनयुद्धमा जति उपलब्धीहरु हासिल गर्यौँ, त्योभन्दा कम्ती क्षति र पीडा उठाएका छैनौें ।

आज आउँदा यी विषयहरु कहानीजस्ता लाग्छन् । उत्पीडनबाट मुक्ति दिने र श्रमिकवर्गको राज्यसत्ता स्थापना गर्ने उद्देश्यको साथ लडिएको जनयुद्धमा क. जीतको साहास, योगदान र वलिदान अग्रस्थानमा छ । केही समय क्रान्तिकारी भएर बाँच्नु एउटा विषय हो तर जीवनभर क्रान्तिकारी भएर वाँच्नु निकै गाह्रो विषय हो । जनयुद्धको रणमैदानमा जीवनको आहुती दिनुभयो जनयुद्धका कालजयी योद्धा भएर । जनयुद्धको ऐतिहासिक योद्धा भएर । अमर क्रान्तिकारी भएर । शहीद भएर । हामी बाँचेकाहरुको भागमा के पर्छ, त्यो भने हेर्न बाँकी नै छ ।

(लेखक हाल उपराष्ट्रपति नन्द बहादुर पुनका प्रमुख स्वकीय सचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्