देशभर ६२ अस्पतालमा १२० खोप केन्द्र



कोरोना विरुद्धको कोभिशिल्ड खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे गर्ने खोपको भर्चुअल शुभारम्भ गर्नेछन् । काठमाडौँ उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा.झलक शर्मा गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन् । काठमाडौँमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौँ मेडिकल कलेज जोरपार्टी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्योरोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गंगालाल अस्पतालगायत छन् । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहने छन् ।

यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहने छन् । उनले आज खोप केन्द्र बनाइएका उपत्यकाका अस्पतालको निरीक्षणसमेत गरिएको बताए । खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ । यस्तै यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्