नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु



बाग्लुङमा हात्तीपाइले रोग चुनौतीका रुपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बाग्लुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । जीवाणु भेटिएसँगै छ बर्षमा निवारण भएको हात्तीपाइले बाग्लुङमा १२ बर्षमा समेत निवारण नहुने पक्का भएको छ ।

हात्तीपाइले रोग निवारणका लागि हालै गरिएको चौथो पटकको नमूना परीक्षणमा नारायणस्थानमा आठ र जैमिनीको कुश्मिशेरामा दुई जनामा हात्तीपाइलेको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ । नारायणस्थानमा यसअघि पनि हात्तीपाइले भइसकेका ती जनालाई समेत पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ ।

चौथो पटकको नमूना परीक्षणमा समेत हात्तीपाइलेको जीवाणु फेला परेकाले बागलुङमा हात्तीपाइले निवारण निकै चुनौतीपूर्ण रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए । नारायणस्थानमा ३०० र कुश्मिसेरामा ३०० जनामा हात्तीपाइलेको जीवाणु परीक्षण गरिएको थियो । दुवै स्थानमा हात्तीपाइलेको जीवाणु फेला परेसँगै यो वर्ष १२ औँ पटक र आगामी वर्ष १३ औँ पटकको अभियान जिल्लाभर चलाउनु पर्ने देखिएको गुरौँको भनाइ छ ।

विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बच्न सकिँदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्