कर्णालीमा आइपुग्यो कोरोना खोप कोभिशिल्ड



भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप कोभिशिल्ड कर्णाली प्रदेश आइपुगेको छ । संघीय सरकारले नेपालगञ्ज कोल्ड स्टार हुदैँ कर्णालीका लागि पठाएको ११ हजार ७ सय ८० खोप सोमबार राति सुर्खेत आइपुगेको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बुधबार देखि खोप लगाउन सुरु गर्ने तयारी थालेको छ । निर्देशनालयका निर्देशक डा.रविन खड्काले कर्णालीका १२ अस्पताललाई केन्द्र बनाएर खोप लगाइने बताए । उनका अनुसार आठवटा जिल्ला अस्पतालका साथै वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई केन्द्र बनाएर कोरोनाविरुद्धको खोप लगाइनेछ ।

कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि नेपालगञ्जबाट हवाइमार्ग तथा अन्य जिल्लाका सुर्खेतबाट स्थलमार्गबाट खोप ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । पहिलो चरणमा करिब २४ हजार आइपुगेको र पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा दिइने निर्देशक खड्काको भनाई छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने जनाएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्यांकअनुसार कर्णालीमा हालसम्म ९६ हजार ९३६ जनाको पिसीआर परीक्षण भएको छ । तीमध्ये सात हजार ४९५ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै २९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्