पर्सामा जन्मजात मोतिविन्दुका बिरामी फेला



पर्सा । अत्यन्त दुलर्भ मानिएको जन्मजात मोतिविन्दु रोगबाट ग्रसित आठजना बिरामी पर्सा जिल्लाको विभिन्न स्थानबाट फेला परेका छन् । माट्रिका आई फाउन्डेशनले जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट १३ देखि ३१ वर्ष उमेर समूहका आठजना जन्मजात मोतिविन्दु रोगका बिरामी भेटिएका हुन् ।

जिल्लाका विभिन्न २८ स्थानमा फाउन्डेशनले आयोजना गरेको शिविरबाट भेटिएका दुई हजारभन्दा बढी मोतिविन्दुका रोगीमध्ये चार पुरुष र चार महिला जन्मजात मोतिविन्दु रोगका बिरामी भेटिएको फाउन्डेशनका मेडिकल कोर्डिनेटर महेश सिंह धामीले जानकारी दिए । उनले पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट सबैभन्दा कम उम्मेरका १३ वर्षीय आशिष चौधरी फेला परेका छन् भने जिराभवानी गाउँपालिकाबाट सबैभन्दा बढी उम्मेरका ३१ वर्षीय हरेराम राम भेटिएको जानकारी दिए ।

बालबालिकामा हुने पोषणको कमी, ठेउला रोग र गर्भ अवस्थाका बेला महिलाले सेवन गर्ने कडा औषधिका कारण बालबालिकामा मोतिविन्दु हुने गरेको मेडिकल कोर्डिनेटर धामीले बताए । गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण र बालबालिकाको प्रत्येक ६ महिनामा आँखाको परीक्षण गरे यो रोगबाट जोगिन सकिने उनको भनाइ छ । पर्सा जिल्लाका विभिन्न स्थानबाट भेटिएका दुई हजारभन्दा बढी मोतिविन्दु रोगीको फाउन्डेशनले निःशुल्क शल्यक्रिया गरेपछि उनीहरु अहिले आँखा देखिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्