बैरियाको स्वास्थ्य शिविरमा २४३ को उपचार



नेपाली सेनाले रौतहटको राजपुर नगरपालिका– ९ बैरियामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा पुगेर २४३ स्थानीयले उपचार सेवा लिएका छन् ।

नागरिक सैनिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यले गत सोमबार सञ्चालन गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयलाई जनरल तथा डेन्टल उपचार सेवा प्रदान गरिएको थियो ।

उक्त स्वास्थ्य शिविरबाट ११० महिला, १०१ पुरुष र ३२ बालबालिकाले उपचार प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको नं २८ बाहिनी र त्यहा रहेको घुम्ती एम्बुलेन्स गुल्म, नेपाल औषधि उत्पादक सङ्घ, प्रदेश नं २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखरा र इन्द्रबक्स गण सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको थियो ।

कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट बञ्चित दुर्गम तथा पिछडिएको क्षेत्रका नागरिकलाई स्थान विशेषमै पुगेर निःशुल्क औषधि तथा स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई सेनाले प्राथमिकता दिँदै आएको छ । यस्ता कार्यले सैनिक नागरिक सम्बन्धलाई थप सुदृढ तुल्याउन योगदान पुग्ने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्