बेलायतले दियो फाइजरको कोरोना खोपलाई प्रयोग गर्न अनुमति



लन्डन । बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो ।

कोरोनाविरुद्धको खोपको प्रयोग अनुमति प्रदान गर्ने बेलायत विश्वकै पहिलो देश भएको छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको समाचार हालै मात्र प्रकाशित भएको थियो ।

तर, यसलाई भण्डारण गर्न एकदम न्युन तापक्रम ७० डिग्री सेन्ग्रिेड आवश्यक पर्ने बताइकाले भण्डारण र ओसारपसारमा चुनौती रहको स्वास्थ्यविद्हरुको धारणा छ । बीबीसीका अनुसार केही दिनमै कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई खोपदिन सुरु गरिनेछ ।

बेलायतले करिब फाइजरसँग ४ करोड डोज कोरोना खोप अर्डर गरिसकेको छ । पहिलो लटमा बेलायतलाई एक करोड डोज छिट्टै उपलब्ध गराइने फाइजरले जनाएको छ । यो खोपको विकास १० महिनाको अन्तरालमा भएको हो ।

बेलायत सरकारले अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज यसअघि नै अर्डर गरिसकेको छ ।

कोरोना खोप सुरुमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)का कर्मचारीलाई र त्यसपछि केयर होममा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिइनेछ । सरकारले यसअघि कोभिड संक्रमणको उच्च जोखिममा पर्ने ‘केयर होम’मा रहेकाहरु र ८० वर्षभन्दा माथिकालाई खोपमा पहिलो प्राथमिकता दिने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्