कोरोना जितेपछि काममै दत्तचित्त



काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण सुरु भएयता पाँच हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । तीमध्ये १३ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ । त्यसमा पाँच जना चिकित्सकको कोरोनाका कारण मृत्यु भयो । कोरोना सङ्क्रमित हुनेमा वरिष्ठ चिकित्सकदेखि नर्र्स, स्वास्थ्यकर्मी छन् ।

कतिपय चिकित्सक कोरोना सङ्क्रमण भएपछि जटिल स्थितिमा पुगेर आईसीयू तथा भेन्टिलेटरमा उपचारपछि निको भए । पुनः काममा फर्किएर बिरामीको जीवन बचाउन लागिरहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीलाई गत कात्तिक ६ गते कोरोना पुष्टि भएको थियो । कोरोनालाई परास्त गरी उहाँ यतिखेर मन्त्रालयको नियमित काममा फर्किसक्नुभएको छ । दशैँको मुखमा कोरोना सङ्क्रमित भएपछि उनलाई दशैँको रौनक भएन । केही खाएको स्वाद तथा गन्धसमेत थाहा हँुदैनथ्यो ।

सहप्रवक्ता डा. अधिकारीले दशँैमा आफैले टीका लगाएका थिए । आमाबुबाले मुछेर कोठाको कुनामा राखिदिएको टीका आफैले लगाउनुपरेको खल्लो अनुभव छ डा. अधिकारीसँग । कोरोना सङ्क्रमित भएको १४ दिनपछि उनी पुनः कोरोना परीक्षण नगरी काममा गए । उनलाई कतिपयले कोरोना नेगेटिभ नआई किन कार्यालय आएको भन्ने प्रश्नसमेत गरे ।

समाजमा कतिपयले कोरोना सङ्क्रमित भइसकेपछि उनीहरूले हेर्ने दृष्टिकोण नकारात्मक रहेको उहाँको गुनासो छ । नियमित कामको क्रममा कोरोना सङ्क्रमित हुनु स्वाभाविक हो, भन्दै डा. अधिकारीले थपे, “तर समाज र साथीभाइ समेत कोरोना सङ्क्रमण भएको थाहा पाएपछिको व्यवहार फरक पाइयो ।” नौ दिनपछि कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भन्ने थाहा छ, लक्षण छैन भने काममा निस्कन र पुनः परीक्षण गर्न समेत पर्दैन भन्दै डा. अधिकारीले स्पष्ट पारे, “अहिले धेरै व्यक्ति कोरोना नेगेटिभ नआएको भन्दै घरमै बसिरहेका छन् ।” कतिपय कार्यालयमा काम गर्न नेगेटिभ रिपोर्ट आउनुपर्ने बाध्यात्मक परिस्थिति रहेको भन्दै अधिकारीले लक्षण केही छैन भने १४ दिनपछि नियमित काममा जान सबै सङ्क्रमितलाई सुझाव दिए ।

स्वास्थ्य मातहतमा भने १४ दिनपछि सङ्क्रमित स्वास्थ्यकर्मी नियमित कार्यालय जान थालेको जानकारी दिँदै उनले स्वास्थ्य सेवा बाहेकका कर्मचारी ४५÷५० दिनसम्म कोरोना रिपोर्ट नेगेटिभ आएको भन्दै घर बसिरहेको बताए । उनले कोरोना रिपोर्ट नेगेटिभ आउनुभनेको सर्प मरिसक्यो तर त्यो सर्पको काँचुली देखेपछि यही सर्प हो, यसले टोक्न सक्छ भनेर आत्तिएको जस्तो भएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्