एनआरएनए कोभिड १९ तथ्यांक अपडेट : यो साता विदेशमा ५४४ नेपाली संक्रमित, थप १ को निधन



काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपव्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका थप १ हजार १ सय ६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५ सय ४४ जनामा संक्रमण देखिएको छ ।

समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार विदेशमा ४४ हजार १ सय १३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । ती मध्ये ४० हजार ७ सय २८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएका छन् । यो साता स्पेन, नेदरल्याण्ड, चेक रिपव्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता साउदी अरबमा थप १ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । संघका अनुसार विदेशमा १८ देशमा २ सय ८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

यो साता नेपालमा मात्र १ लाख ९१ हजार ६ सय ३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये १ लाख ५५ हजार १ सय १४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८१ प्रतिशत रहेको छ । हिजो शनिवार साँझसम्म नेपालमा १ हजार ८७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

१० हजार किट स्वास्थ्य सामग्री
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जिन एनआरएनए उपाध्यक्ष डा.बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई गत शुक्रबार हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गर्नुभयो ।

हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए उपाध्यक्ष डा। केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखिनै विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सम्वन्धी सामग्री सहयोग गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्य सम्वन्धी सामग्री नेपाललाई जुटाउन सकेकोमा प्रसन्नता प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्