कोरोना कहरमा टीका : कसैले लगाएनन्, कसैले सङ्क्रमणमुक्त हुनेबित्तिकै लगाए



दशैँमा टीका लगाउने रहर सबैलाई हुन्छ । तर यसपटक कोभिड–१९ को कहरले गर्दा टीका लगाउने कार्य सावधानीपूर्वक गरिएको पाइएको छ । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले आफ्नो परिवारमा यसपाली कोरोना महामारीकै कारण टीका नलगाइएको बताइन् । उपप्रमुख उप्रेतीका पति कोरोना सङ्क्रमणका कारण होम आइसोलेसनमा हुनुहुन्छ । उनकी ९० वर्षकी आमा घरमा छिन् ।

पारिवारिक सल्लाह गरेर टीका नलगाइएको जानकारी दिदै उनले भनिन्, “कोरोना गएपछि अर्को साल लगाउँला भन्ने सोचियो ।” उनको काँकरभिट्टा, विर्तामोड र काठमाडौंमा रहेका दाजुभाई खलक सबैले पारिवारिक निर्णय बमोजिम यसपाली टीका लगाएनन् ।

भद्रपुर नगरपालिका वडा नं. १० निवासी असारु राजबंशीले आजै बिहान पिसिआर रिपोर्ट नेगेटिभ आएकाले परिवारका साथ सावधानीपूर्वक टीका लगाए । राजबंशी १२ दिन अघिदेखि कोरोना सङ्क्रमणका कारण होम आइसोलेसनमा बस्दै आएका थिए । नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड १९ बाट सङ्क्रमित स्वास्थ्यकर्मी लेखनाथ खतिवडालाई भेटेर स्वास्थ्यलाभको पहिलो शुभकामना दिए । कोरोनाविरुद्धको लडाईमा अग्रपङ्तिमा रहेर खटिरहेकामध्ये स्वास्थ्यकर्मीको योगदान प्रशंसनीय रहेको भन्दै प्रवक्ता शर्मा विजया दशमीको पहिलो शुभकामना दिन मेचीनगर नगरपालिका वडा नं. ९ स्थित खतिवडाको निवासमै पुग्नु भएको थियो ।

खतिवडा काँकडभिट्टा स्वास्थ्य चौकीको प्रमुख छन् । उनी एक साता अघि कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्