निषेधाज्ञाले संक्रमितको संख्या घट्नु साटो झन्डै दोब्बरले बढ्दै



काठमाडौं । काठमाडौंसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून मात्रै देखिएको छ । निषेधाज्ञा जारी गरिएपछि संक्रमितको संख्या घट्नु साटो झन्डै दोब्बरले बढिरहेको छ ।

काठमाडौं उपत्यकामा दिनहुँ ५ सयभन्दा बढी कामकाजी व्यक्ति संक्रमित भइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त तथ्यांकअनुसार भदौ पहिलो साता मुलुकभर संक्रमित थपिने क्रम दिनहुँ औसत ७ सय ५३ हाराहारी थियो । भदौ अन्तिम साता हरेक दिन १ हजारभन्दा बढी संक्रमित पुष्टि भएका छन् । भदौको अन्तिम दिन बुधबार मुलुकभर १ हजार ५ सय ३९ जनामा कोरोना देखिएको मन्त्रालयले पुष्टि गरेको छ । एकै दिन संक्रमित पुष्टि भएको यो हालसम्मकै उच्च संख्या हो ।

त्यस्तै, मृत्युदर पनि उच्च छ । भदौ १ देखि १५ गतेसम्म कोरोनाबाट १ सय २४ जनाको मृत्यु भएको थियो । भदौ १६ गतेयता मृत्युदर झन् बढेको छ । भदौ १९ र २२ गते दुई दिनमा २८ जनाको ज्यान गयो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भदौ ३१ गते ८ जनाको ज्यान गएको जानकारी दिए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले साउनभन्दा भदौमा मृत्युदर बढेको बताए । अहिले मृत्युदर ०.६ प्रतिशत छ । सरकारी अधिकारीले निषेधाज्ञाको प्रभावका कारण संक्रमितको संख्या घट्ने आशा व्यक्त गरेका थिए । तर, निषेधाज्ञाले उपत्यकामा संक्रमण विस्तारको ‘चेन ब्रेक’ गर्न नसकेको विज्ञले जनाएका छन् । उक्त समाचार अजाको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्