जनताको साथ र सहयोगले मात्र कोरोना माहामारी पराजित हुनेछ



काठमाडौं । मित्र राष्ट्र चीनको वुहानमा सन् २०१९ को अन्त्यमा र नेपालमा सन् २०२० को प्रारम्भतिर देखिएको कोरोना भाइरसको महामारीले विश्व आक्रान्त छ । पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बढ्दो छ र छिमेकी मुलुक भारतमा त अवस्था कहाली लाग्दो छ ।

त्यसको प्रत्यक्ष प्रभाव यहाँ पनि परेको छ । सक्रमितको संख्याको आधारमा भारत दोश्रो बनेको छ भने नेपाल ५५ औं स्थानमा छ । यहाँ अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सब्ख्या ३४५ पुगेको छ भने सब्क्रमितको सब्ख्या ५४ हजार नाघेको छ । यसबीच नेपालमा ३८ हजार भन्दा बढी कारोनामुक्त भएको तथ्याङ्क देखिन्छ ।

यसले महामारी बढेको त देखाउँछ तर त्यसको सामना गर्न नेपाल कमजोर छैन भन्ने सन्देश पनि दिएको छ । कुनै पनि विषमपरिस्थितिमा सरकारको पहिलो कर्तव्य भनेकै जनताको जीवनरक्षा हो । यस्तोमा सरकार र नागरिक साथ साथ हुनु पर्ने हो तर विडम्बना पछिल्लो समयमा सरकार प्रति जनताका भरोसा टुटेको छ र सरकारप्रति जनताका असन्तुष्टिका स्वरहरू क्रमशः बढेको देखिन्छ ।

यसको पछाडिको कारण भनेको सकारले महामारी नियन्त्रण, रोकथाम र उपचारका लागि गरेको प्रयत्नहरू सराहनीय हुँदा हुँदै पनि पर्याप्त नहुनु र जन अपेक्षा त्यसले पूरा गर्न नसक्नु हो । खासमा कोरोना कहरले जनताको जीविकाका माध्यम टुट्दै गएका कारण सरकारप्रति जनताको भरोसा र विश्वास क्रमशः गुम्दै भएको देखिन्छ । टुट्दै गएको जनविश्वास र भरोसा पुनः जागृत गराएर कोरोना विरुद्धको लडाइँ जित्नुको विकल्प हामीसँग छैन ।

कोरोना विरुद्धको वर्तमान महायुद्ध कुनै पनि देशको सरकारले एक्लै लडेर जित्न सकिने लडाइँ होइन । यसका लागि जनताको साथ र सहयोग अनिवार्य शर्त हो । जनताले साथ दिएनन् भने जुनसुकै महाशक्ति राष्ट्र पनि यो लडाइँमा पराजित हुने निश्चित प्रायः छ । कोरोनासँगको त्यो पराजयको पीडा सरकार र सरकारको नेतृत्व गरिरहेकाहरूले होइन, मूलतः जनताले नै भोग्ने हुन् । त्यसैले नगर सन्देश परिवार सम्पूर्ण कीर्तिपुरबासीसँग आवश्यक सुझाव र सल्लाहसहित कोरोना विरुद्धको यो महायुद्धमा सरकारलाई साथ दिन हार्दिक अनुरोध गर्दछ ।

सरकारले जनताका जनजीविकासँग सम्बन्धित चासो र आवश्यकताको सम्बोधन यथोचित किसिमले गर्ने र जनताले पनि कोरोना नियन्त्रण, रोकथाम र उपचारसम्बन्धमा सरकारका योजना र नीतिहरूलाई साथ दिनुको विकल्प हामीसँग छैन । कोरोना विरुद्धको लडाइँमा जनता सरकारको विरोधी होइन परिपूरक हुनु अनिवार्य छ । त्यसले मात्र कोरोना विरुद्धको वर्तमान लडाइँमा हामीले विजय प्राप्त गर्न सक्नेछौं । त्यसैले आउनुहोस्, हामी सरकारसँग हातेमालो गरौं । कोरोनालाई पराजित गरौं ।

प्रतिक्रिया दिनुहोस्