
फ्रान्समा फेरि कोरोनाको महामारी नियन्त्रण बाहिर हुन थालेको छ । फ्रान्समा कोरोना संक्रमित घट्ने क्रममा थिए । तर हिजोमात्र फ्रान्समा ७ हजार बढी संक्रमित भेटिए । जुन ५ महिनाभित्रको सबैभन्दा धेरै संक्रमित संख्या हो ।
राष्ट्रपति इम्मानुयल माक्रोनले देशलाई अर्को लकडाउनबाट जोगाउनका लागि सक्दो सबै कोसिस गरिने बताएका छन् । शुक्रबार ७ हजार ३ सय ७९ जनामा संक्रमण देखियो, फ्रान्समा मार्च ३१ मा सर्वाधिक ७ हजार ५ सय ७८ जनामा संक्रमण देखिएको थियो । अहिलेको संख्या त्यसयताको सर्वाधिक हो ।
यस्तै फ्रान्समा २४ घण्टामा २० जनाले ज्यान गुमाए । फ्रान्समा अब विस्तारै विद्यालयहरु खुल्ने तयारीमा थिए । तर अचानक स्थिति भयावह भएपछि अब विद्यालयहरु नखुल्ने भएका छन् ।
फ्रान्सको स्वास्थ मन्त्रालयले कोरोनाको संक्रमण निकै तिव्र फैलिएको जनाएको छ । जुलाई २९ मा फ्रान्समा केवल ९ सय २४ जनामा संक्रमण देखिएको थियो ।
महामारीबाट सुरुमै प्रभावित हुने युरोपेली देशहरुमध्ये फ्रान्स एक हो । महामारी नियन्त्रणबाहिर पुगेपछि यहाँ मार्चदेखि नै नियम कडा बनाइएको थियो ।
यसका बाबजुद, कुल २ लाख ७२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भयो । नयाँ संक्रमितको संख्या बिस्तारै कम हुँदै गएपछि गत जुन १५ देखि लकडाउन खुकुुलो गरिएपनि अहिले फेरि संक्रमण दर उकालो लाग्न थालेको हो ।





