वीरगञ्ज । कोरोना भाइरस संक्रमणका कारण मंगलबार बाराका २ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा उनीहरुको भएको हो ।
मृत्यु हुनेमा सुवर्ण गाउँपालिका ४ प्रशुरामपुरमा ७२ वर्षीय र महागढीमाई नगरपालिका ४ दहियारटोल बस्ने ५९ वर्षीय पुरुषको मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डा.उदय नारायण सिंहले जानकारी दिए ।
भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएका ७२ वर्षीय बृद्ध घरमै आइसोलेसनमा थिए । स्वास्थ्यमा समस्या आएपछि भदौ ८ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि ल्याइएकोमा भदौ ९ गते मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको हो ।
त्यस्तै भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका महागढीमाई नगरपालिकाका ५९ वर्षका पुरुष भदौ ५ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए । दुवै तर्फ फोक्सोमा कडा खालको निमोनिया देखिएका उनलाई आईसीयूमा राखेर उपचारको क्रममा मंगलबार बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।





