एक व्यक्तिमा साढे चार महिनापछि दोहोरिएर संक्रमण



बिस्वब्यापी रुपमा कोभिड १९को महामरी फैलिराखेको बेला सन्चो हुनेको संख्या बढदै गएता पनि महामारी फेरी दोहोरीएर फैलन थालेको छ ।

हङकङका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण दोहोरिएर अर्थात दोस्रोपटक भएको छ।

३० वर्षको आसपासका ती व्यक्तिमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भएर निको भएको साढे चार महिनापछि पुनः संक्रमण भएको वैज्ञानिकले बताएका छन्।

ती व्यक्तिमा साढे चार महिनाअघि संक्रमण भएको भाइरस र अहिलेको भाइरसबीच स्पष्ट रुपमा आनुवंशिक भिन्नता रहेको वैज्ञानिकको भनाई छ। एक व्यक्तिमा दोहोरिएर कोरोना भाइरसको संक्रमण भएको यो पहिलो प्रमाणित केस हो।

विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड ३५ लाख ६६ हजार भन्दा धेरै छ। त्यसमध्ये ८ लाख ११ हजार भन्दा धेरैको ज्यान गएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक व्यक्तिमा पुनः संक्रमण देखिएको घटनाबाटै कुनै निष्कर्षमा नपुग्न भनेको छ। विज्ञहरुले दोहोरिएर हुने संक्रमण अति दुलर्भ रहेको तथा दोस्रोपटक हुने संक्रमण त्यति गम्भीर नहुने पनि बताएका छन्।

संक्रमित व्यक्तिको शरीरमा भाइरसविरुद्ध लड्नका लागि प्रतिरक्षा प्रणाली विकास हुन्छ र त्यसले पुनः संक्रमण हुनबाट पनि रोक्छ। तर अति दुलर्भ अवस्थामा मात्रै पुनः संक्रमण हुने गर्छ।

संक्रमणबाट गम्भीर बिरामी परेका व्यक्तिमा सबैभन्दा बलियो प्रतिरक्षा प्रणालीको विकास भएको पाइएको छ। तर सो प्रतिरक्षा प्रणाली कति बलियो र अहिलेसम्म प्रभावकारी रहन्छ भन्ने स्पष्ट भएको छैन।

सो कुरा थाहा पाउनका लागि कोरोना भाइरसबाट संक्रमित भइ निको भएका व्यक्तिहरुमा बिस्तारित अध्ययनको खाँचो रहेको डब्लुएचओले बताएको छ।

प्रतिक्रिया दिनुहोस्