
काठमाडौं । ललितपुरको पाटन अस्पताल, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पर्साको नारायणी कोरोना अस्पतालमा गरी पछिल्लो पटक चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
ललितपरको पाटन अस्पतालमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो । उनी साउन २१ गतेदेखि सो अस्पतालमा उपचाररत थिइन् ।
त्यस्तै कोरोना संक्रमणका कारण बुधबार पर्साको वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ । वीरगञ्जको भिस्वा घर भएका ५७ वर्षका पुरुषको मंगलबार साढे ३ बजे मृत्यु भएको थियो । उनको बुधबार विहान कोरोना संक्रमण पुष्टि भएको हो ।
साउन २७ गतेदेखि गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका वीरगञ्ज बिर्ताका ८४ वर्षका पुरुषको मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो ।
उता कोरोना भाइरस संक्रमणका कारण सुनसरीमा ७१ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचराको क्रममा बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश साकोटाले जानकारी दिए ।





