
काठमाडौं । कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु भएको छ । मृतकमा नवलपरासी, कास्की, तनहुँ, काभ्रे, बाँकेका १/१ जना रहेका छन् । ललितपुरस्थित पाटन अस्प्तालमा उपचाररत नवलपरासीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मंगलबार बिहान नवलपरासीका ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले बताए । ती पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि साउन ३० गते आइसीयूमा भर्ना गरिएको थियो ।
यसैगरी काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत ९८ वर्षीय संक्रमित वृद्धको पनि मंगलबार नै मृत्यु भएको छ । यस्तै गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराका ८७ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । ज्वरो तथा श्वासप्रश्वास समस्या भएर २२ गते भर्ना भएका थिए ।
यस्तै कास्की सेवा अस्पतालमा उपचाररत तनहुँ निवासी ५० वर्षीय महिलाको आईसीयूमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । यसैबीच बाँकेको नेपालगञ्जमा कोरोना संक्रमणकै कारण ६२ वर्षीय पुरुषको समेत मृत्यु भएको छ ।





