कोरोना संक्रमणबाट चार जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो, भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं -१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।

कीर्तिपुर- २ ट्याङ्लाफाँटका ६४ वर्षीय पुरुषको उपचारका क्रममा मेडिसिटी अस्पताल भर्ना  गरिएको थियो र उनको सोमबार विहान निधन भएको हो ।

यसैगरी वीरगञ्जको कोरोना विशेष अस्पताल, गण्डकमा उपचारका क्रममा आइतबार मृत्यु भएकी वीरगञ्ज -१५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मृत्यु भएका धनुषाको मिथिला बिहारी नगरपालिका- ५ का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने धनुषाको अपडेट हुन बाँकी भएकाले ७९ मात्र देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्