छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु



काठमाडौं । नवलपरासी (पश्चिम), कास्की, रुपन्देही, धनुषा र चितवनका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम): सुस्ता गाउँपालिका(३ सेखवानास्थित भित्री सडकमा युपि ५६ एम ६४३६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने बालचन्द दुसाधको छोरा २ बर्षीय कृष्ण दुसाधको सोमबार दिउँसो मृत्यु भएको छ । बाटोमा खेलिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल चौपत्ता हुँदै मेडिकल केयर भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीः अन्नपूर्ण गाउँपालिका-१० किलुस्थित सडकमा ग.२ च २८१७ नम्बरको जिप सोमबार दिउँसो सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा जिप चालक मुस्ताङ कुन्जो बस्ने ४० बर्षीय सोम प्रसाद शेरचनको घटनास्थलमै मृत्यु भएको छ ।

रुपन्देहीः बुटवल उपमहानगरपालिका-२ गढि टोलमा लु.२१ प ३८१२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ४५ बर्षीय सुरेन्द्र केशरीको सोमबार राति मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका केशरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषाः जनकपुर उपमहानगरपालिका-८ बजरंग चोकमा ज.१३ प २०९८ नम्बरको मोटरसाइकललाई ज.१० प ८२२९ नम्बरको मोटरसाइकलले सोमबार दिउँसो ठक्कर दिँदा ज.१३ प २०९८ नम्बरको मोटरसाइकलका चालक मिथिला बिहारी नगरपालिका(४ कजरा रमौल बस्ने २५ वर्षीय शम्भु कुमार रजकको मृत्यु भएको छ ।

दुर्घटनामा शम्भु कुमार उछिट्टिएर ज.१ त ७८४१ नम्बरको ट्याक्टरको चक्कामुनि पुग्दा चक्काले किचेर गम्भीर घाइते भएका उनको जानकी हेल्थकेयर जनकपुर हुँदै थप उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ज.१० प ८२२९ नम्बरको मोटरसाइकलमा सवार २ जनाको जानकी हेल्थकेयर जनकपुरमा उपचार भइरहेको छ । हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवनः माडी नगरपालिका-९ बगही बसपार्कस्थित सडकमा ठोरीबाट बसन्तपुरतर्फ जाँदै गरेको ना. ५ ख ६७७९ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने बिजय दुराकी छोरी ६ वर्षीया खुस्बु दुराको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्