अवैध रुपमा भन्सार छली ल्याउँदै गरेका भैंसी सहित ४ जना पक्राउ



पर्सा । वीरगंज महानगरपालिका–२८ स्थित सडकबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेका करिब ११ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरका भैंसी सहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–३२ परसवा बस्ने ३० वर्षीय संजय राउत, सोही महानगरपालिका–२८ बगही बस्ने ४२ वर्षीय संजय गिरी, पर्सा साविक औराहा गाविस–८ सिसई बहुअरी बस्ने ३२ वर्षीय जंग बहादुर राउत र सोही ठाउँ बस्ने ३५ वर्षीय वीर प्रसाद यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.४ च ८३९४ नम्बरको गाडीमा भारतबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेका भैंसी सहित फेला पारी गाडी चालक संजय र गाडीमा सवार अन्य ३ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्