१९ साउन २०७७, काठमाडौं । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताल तोकेको छ । नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै एनएचआरसीले देशभर यसलाई विस्तार गर्न लागेको हो ।
परिषद्का सदस्य सचिव प्रदीप ज्ञवालीका अनुसार सम्भाव्य अवलोकन क्लिनिकल स्टडीका लागि नौ सरकारी र तीन निजी अस्पताल छनोट गरिएको छ । सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, पाटन, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी र धुलिखेल अस्पताल छन् ।
निजीतर्फ मेडिसिटी, ह्याम्स र ग्राण्डी अस्पताल कन्भलेसेन्ट प्लाज्माथेरापीबाट उपचारका लागि छनोट गरिएको छ ।सदस्य सचिव डा.ज्ञवालीका अनुसार दाता र रिसिभर दुबैको स्वेच्छाले मात्र यो विधिबाट उपचार गरिनेछ ।
दाता कोरोना संक्रमण भएर निको भएको, पछिल्लो १४ दिनसम्म कुनै लक्षण नदेखिएको र रक्तदानसम्बन्धी नेपाल रेडक्रस सोसाइटीको मापदण्ड पूरा भएको हुनुपर्नेछ ।