१८ साउन २०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिका र वृद्धवृद्धाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना संक्रमण फैलिँदै गएका काठमाडौं लगायतका ठूला शहर र घना बस्तिहरुमा बालबालिका र वृद्धवृद्धाहरु बाहिर निस्कन नहुने बताएका हुन् ।
‘६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा १२ वर्ष मुनिका बालबालिका काठमाडौं र काठमाडौं जस्तै घना बस्ति भएका ठाउँहरुमा घरबाट बाहिर ननिस्कनु हुन अनुरोध छ, ’डा.गौतमले भने, ‘केही दिन यता हाम्रो देशमा कोरोना पोजेटिभ दर बढी भएको छ ।’
डा.गौतमले कोरोना निको हुनेको संख्या पनि बढ्दै गएको बताए । तर कोरोना संक्रमण हुन नदिन सचेत हुनुपर्ने डा.गौतमले बताए । उनले नेपालमा कोरोना संक्रमण देखिएका मध्ये ८० प्रतिशतमा कुनै स्वास्थ्य समस्या नभइ निको भएको पनि बताए । उनले स्वास्थ्य समस्या नभएका कोरोना संक्रमित घरमै आइसोलेसनमा बसेर पनि निको हुने बताए ।
उनले कोरोना संक्रमितलाई भेदभाव नगर्न पनि आग्रह गरे । डा.गौतमले कोरोना संक्रमणबाट बच्ने नागरिक आफैको जिम्मेवारी भएको पनि बताए । उनले नाक मुख छोपिने गरी मास्क प्रयोग गर्न पनि आग्रह गरेका छन् । घर र कार्यालय भित्र प्रवेश गर्दा वा कुनै सामाग्री छोएपछि साबुनपानीले हात धुनुपर्ने उनले बताए ।