दुई ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएसंगै बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा



१८ साउन २०७७, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले  भने, ‘मसमेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं ।

अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ ।’ उनले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिए । आफूले अरुसँग भेटघाट बन्द गरेको उनले बताए ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

सवारीको चाप बढी भएको ठाउँमा कम चाप हुने स्थानमा खटिएका ट्राफिकलाई ल्याएर खटाउँछौं। भएका जनशक्तिलाई नै मिलाएर परिचालन हुन्छ एसएसपी ढकालले भने।

पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमणको दर बढेर गएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्