‘ कोरोना भाइरसको भ्याक्सिन दुई साताभित्रै ल्याउने रुसको तयारी’



१४ साउन २०७७, एजेन्सी । रुसले विश्वमा कोरोना भाइरसको भ्याक्सिनलाई स्वीकृति दिने पहिलो देशका रुपमा आफुलाई उभ्याउने गरी तयारी गरिरहेको छ, अधिकारीहरुका अनुसार दुई साताभित्रै भ्याक्सिनले आधिकारिकता पाउनेगरी तयारी गरिएको छ । यद्यपि भ्याक्सिनको सुरक्षा, प्रभावकारिता र रुसले यसको विकासका चरणहरु पार गरे–नगरेको विषयमा अझै चासो कायम रहेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ ।

रुसी अधिकारीहरुले सिएनएनलाई बताए अनुसार उनीहरुले अगस्ट १० वा त्यसभन्दा अघि भ्याक्सिनलाई स्वीकृति दिलाउनेगरी काम अघि बढाइरहेका छन्, मस्कोस्थित गामेल्या इन्स्टिच्युटले यस भ्याक्सिनको विकास गरेको हो ।
उनीहरुका अनुसार यो भ्याक्सिन सर्वसाधारणको प्रयोगका लागि स्वीकृत हुनेछ र पहिलो प्राथमिकता स्वास्थकर्मीलाई दिइनेछ ।

‘यो स्पुटनिक मुभमेन्ट हो,’ १९५७ मा सोभियत युनियनले सार्वजनिक गरेको विश्वकै पहिलो स्याटेलाइटको प्रसङ्ग झिक्दै रुसको सोभरेन वेल्थ फन्डका प्रमुख किरिल डेमीट्रिभले भने । यस निकायले रुसी भ्याक्सिनका लागि लगानी गरिरहेको छ । ‘स्पुटनिकको आवाज सुनेर अमेरिकीहरु आश्चर्यचकित भएका थिए । अहिले यो भ्याक्सिनलाई लिएर त्यस्तै भएको छ । रुसले सबैभन्दा पहिले बनाउनेछ,’ उनले थपे ।

यद्यपि, रुसले आफ्नो भ्याक्सिन परीक्षणबारे कुनै वैज्ञानिक तथ्य सार्वजनिक गरेको छैन र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि यसको सुरक्षा र प्रभावकारिताबारे चासो राखिरहेका छन् । आलोचकहरुले रुसी राष्ट्रपतिको कार्यालय अर्थात् क्रेमलिनको दबाबका कारण भ्याक्सिन चाँडै बाहिर ल्याउन खोजिएको आरोप लगाएका छन्, राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई विश्वको विज्ञान शक्तिका रुपमा चित्रित गराउन खोजेका छन् । कतिपय आलोचकहरुले यस भ्याक्सिनको मानवीय परीक्षण पूरा नभएको आरोप समेत लगाएका छन् ।

संसारभर अहिले दर्जनौं भ्याक्सिनको परीक्षण चलिरहेको छ र थोरै भ्याक्सिनले मात्रै ठूलो संख्यामा परीक्षण गरिरहेका छन्, धेरैजसो भ्याक्सिन विकासकर्ताहरुले भ्याक्सिनलाई स्वीकृति दिनुपूर्व गर्नुपर्ने धेरै काम बाँकी रहने भन्दै सतर्क समेत गराएका छन् ।

केही भ्याक्सिनहरु तेस्रो चरणको क्लिनिकल ट्रायलबाट गुज्रिरहेका बेला रुसी भ्याक्सिनले भने अझै दोस्रो चरणको ट्रायल पूरा गर्न बाँकी छ । भ्याक्सिन विकासकर्ताहरुले ३ अगस्टमा यो परीक्षण पूरा हुने र त्यसपछि तेस्रो चरणको क्लिनिकल ट्रायलसँगै समानान्तर रुपमा स्वास्थकर्मीलाई पनि भ्याक्सिन लगाइदिने बताएका छन् । रुसी वैज्ञानिकहरुले यो भ्याक्सिन यसअघि नै अन्य रोगविरुद्ध लड्नका लागि तयार गरिएका भ्याक्सिनहरुको संशोधित स्वरुप रहेकाले यसलाई चाडैं विकास गरिन लागिएको बताए । अन्य, धेरै देश र कम्पनीहरुले पनि यही दृष्टीकोणलाई अगिंकार गरेका छन् ।

सैनिकमा परीक्षण
रुसी रक्षामन्त्रालयका अनुसार रुसी सैनिकहरुले भ्याक्सिनको मानवीय परीक्षणमा स्वयंम्सेवकको भूमिका निभाएको जनाएको छ । भ्याक्सिन विकास परियोजनाका निर्देशक अलेक्जेन्दर गिन्सवर्गले सिएनएनसँगको कुराकानीमा आफुले पनि भ्याक्सिन लगाइसकेको जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्