काठमाडौंका ८ सहित थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि



११ साउन २०७७, काठमाडौं

बितेको २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस (कोभिड–१९) पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । संक्रमितमध्ये काठमाडौंका ८ जना रहेका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ८ सहित थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । जसमध्ये संक्रिय संक्रमितको संख्या पाँच हजार ४४० रहेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ७५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या १३ हजार एक सय २८ पुगेको छ ।

अहिलेसम्म १७ हजार नौ सय ३ क्वारेन्टाइनमा छन् । संक्रमित शून्य भएका जिल्लाको संख्या ६ पुगेको छ । पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ छन् । पाँच सय भन्दा बढी संक्रमित भएका जिल्लाको संख्या तीन रहेको छ । रौतहट, कैलाली र बाजुरामा बढी संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्