मुस्ताङमा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित



११ साउन २०७७, मुस्ताङ

हिमालपारिको जिल्ला मुस्ताङ जाने सडक बाढीपहिराका कारण ठाउँठाउँमा भत्किएपछि यहाँको जनजीवन प्रभावित भएको छ । करिब २० दिनअघि ठाउँठाउँमा सडक अवरुद्ध हुने गरी गएको पहिरो र त्यसयताका विभिन्न खण्डमा बाटो बिग्रने भत्कने क्रम बढेपछि म्याग्दी–जोमसोम क्षेत्रको सडक यातायात पूर्णरुपमा ठप्प भएको छ ।

सडकका कारण आवतजावत रोकिएपछि लामो समयसम्मको बन्दाबन्दीका कारण पोखरामा रोकिएका मुस्ताङका सर्वसाधारण यहीँ रोकिन बाध्य छन् । मुस्ताङबाट पोखरा आउनुपर्ने सर्वसाधारण पनि त्यही रोकिनुपरेको छ । बाढीपहिरोका कारण म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेतेसम्मको सडक ठाउँठाउँमा अवरुद्ध भएको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरोला सडक खण्ड) का आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिए । उनका अनुसार अवरुद्ध सडक मर्मतलाई तीव्रताका साथ बढाउँदा पनि करिब एक महिना अवधि लाग्ने देखिएको छ ।

सडक अवरुद्धसँगै डिजेल पेट्रोलको अभाव हुँदा यहाँ सञ्चालित कालीगण्डकी करिडोर आयोजना, विभिन्न पुल निर्माणलगायतका काम प्रभावित भएका छन् । ठाउँ ठाउँमा बिजुलीका खम्बा ढली विद्युत् अवरुद्ध भएपछि १३.६ मेगावाट क्षमताको थापा खोला जलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए ।

पोखरा जोमसोम हवाई उडानसमेत सञ्चालनमा आइनसकेको अवस्थामा पोखरामा अलपत्र परेका सर्वसाधारणलाई लक्षित प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको पहलमा चाट्र्ड उडानको तयारी गरिएको छ । अवरुद्ध सडक चाँडौ खुलाउनका लागि सङ्घ सरकार समक्ष आवश्यक पहल भइरहेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिए । उनका अनुसार म्याग्दीको तातोपानीदेखि मुस्ताङको लेतेसम्मको जमिन कमजोर भएका कारण पटक–पटक समस्या आउने गरेको छ । यसको दीर्घकालीन समाधानका लागि भौगर्भिक अध्ययन गरी विकल्प खोज्नुपर्ने देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्