सुक्खाग्रस्त क्षेत्रमा लिफ्टिङ सिँचाइ आयोजना सञ्चालन हुने



१० साउन २०७७, काठमाडौं

पानीका मुहान सुक्दै गएपछि सुक्खाबाट प्रभावित बनेको पाँचथरको कुम्मायक गाउँपालिकाले लिफ्टिङ प्रविधिबाट सिँचाइ आयोजना सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले लिफ्टिङ प्रविधिबाट तमोर नदीको पानीलाई नजिकका बस्तीमा पुर्याइ सिँचाइको प्रबन्ध गर्ने तयारी थालेको हो ।

गाउँपालिकाले चालू आर्थिक वर्षको बजेटमा नमूना सिँचाइ आयोजना सञ्चालनका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटमा लागत साझेदारीको नीतिअनुसार लाभान्वित हुने स्थानीयवासीको आर्थिक सहभागिता जुटाई नमूना आयोजना सञ्चालनमा ल्याइने गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

वडा नं १, ३, ४ र ५ मा बृहत् लिफ्टिङ खानेपानी आयोजना सञ्चालन भइरहेको छ । अव सोही आयोजनाको पानीलाई सिंचाईमा उपयोग गरी कृषि उपज उत्पादनमा जोड दिन लागिएको हो । नमूना सिँचाइ आयोजना सञ्चालनका लागि गाउँपालिकाले कार्यविधि निर्माण गरिरहेको छ ।

तमोर नदी आसपासका क्षेत्रलाई लक्षित गरी यो आयोजना सञ्चालन गर्न लागिएको हो । नदी नजिकैका क्षेत्रमा आयोजना सञ्चालन गर्दा विद्युत् महशुल कम हुने भएकाले गाउँपालिकाले ती क्षेत्रलाई प्राथमिकतामा राखेर आयोजनाको परिकल्पना गरेको हो । विगतमा प्रदेश सरकारबाट समेत लिफ्टिङ सिँचाइ आयोजनाका लागि यहाँको सिम्ले गाउँमा सर्वेसमेत गरेको थियो । तर लागत रकम बढी हुने भएपछि प्रदेश सरकारको उक्त कार्यक्रम रोकिएको अध्यक्ष चेम्जोङले बताए ।

गाउँपालिकामा पर्ने साविकको यासोक, रानीगाउँ र स्याबरुम्बा गाविस सुक्खाबाट प्रभावित छन् । वर्षा कम हुँदै जानु तथा जथाभावी सडक निर्माण भएपछि यहाँ रहेका पानीका प्राकृतिक मूल दुई दशकअघिबाट क्रमशः सुक्दै गएका थिए । खानेपानीको हाहाकार भएपछि यहाँ बृहत् पम्पिङ खानेपानी आयोजना गत फागुनदेखि सञ्चालनमा आएको छ । सुक्खाग्रस्त क्षेत्र उर्बर भए पनि सिँचाइको अभावले मरुभूमिमा परिणत हुने अवस्थामा पुगेका छन् । बसाइँसराइ रोक्न खानेपानीपछि सिँचाइको सुविधा पुर्याउनैपर्ने आवश्यकता खड्किएको गाउँपालिका अध्यक्ष चेम्जोङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्