धोबीखोला किनारमा ७ करोड बढी लगानीमा अत्याधुनिक दुई पार्क बन्दै



०८ साउन २०७७, काठमाडौं

काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै वडा–५ मा महानगर र नरबुद्ध पार्क निर्माण कार्य अघि बढाएको छ ।

महानगरपालिकाले हाँडीगाउँस्थित धोबी खोला किनारमा भत्केको पुलदेखि कालो पुलसम्मको बिचमा रहेको करीब ३६ रोपनी सार्वजनिक जग्गामध्ये ६ रोपनी ११ आना क्षेत्रमा नरबुद्ध पार्क र ८ रोपनी क्षेत्रफलमा महानगर पार्क निर्माण कार्य अघि बढाएको हो ।

लागत अनुमान ३ करोड ३७ लाख ३८ हजार अनुमान गरिएको नरबुद्ध पार्कका निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७-०७८ का लागि १ करोड ५० लाख विनियोजन गरेको छ ।

उक्त पार्क प्रस्ताव आव्हानको चरणमा पुगेको वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए । विहार र बुद्धको मूर्तिसहितको सो पार्कमा पोखरी, फाउण्टेन र विश्रामस्थल समेत रहने छ । उक्त पार्क अपाङ्गमैत्री र जेष्ठ नागरिकमैत्री रहेको वडाध्यक्ष डंगोलले जानकारी दिए ।

हरियालीलाई विशेष प्राथमिकता दिएको सो पार्कमा वर्षातको पानी संकलन गरी पुर्नप्रयोग गर्न सकिने र वाटर रिचार्जको पनि व्यवस्था गरिएको छ । नरबुद्ध पार्कको आर्किटेक डिजाइन निर्मिता डंगोलले तयार पारेकी हुन् ।

महानगर पार्कको पनि लागत अनुमान ४ करोड बढी रहेको डंगोलको भनाई छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थितिमा उक्त पार्कको प्रारम्भिक डिजाइबारे स्थानीयसँग छलफल सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्