परिवारलाई धम्की दिने ट्रोलर्स विरुद्ध कानूनी कारवाही गर्ने तयारीमा करन !



०७ साउन २०७७, काठमाडौँ

सुशान्त सिंह राजपुतको सुसाइडपछि बलिउडमा अहिले नेपोटिज्मबारे खुबै नै चर्चा चलिरहेको छ । सुशान्तको निधनपछि धेरैले बलिउडमा हुने गरेको नेपोटिज्मको कारण नै उनले ज्यान गुमाएको बताउँदै बलिउडका विभिन्न हस्तिहरुलाई गाली गरिरहेका छन् ।

सुशान्तका फ्यानले सबैभन्दा धेरै करनलाई नै उनको मृत्युको दोषी माने । केहीले त करनको बच्चाहरु र आमालाई नोक्सान पुर्याउने धम्की समेत दिएका थिए । अहिले सामाजिक सञ्जालबाट करन टाढा छन् । तर प्राप्त जानकारी अनुसार करनले ट्रोल गर्नेहरुलाई कानुनी रुपमा सजाय दिने प्लान बनाइरहेका छन् ।

उनले उनको परिवारलाई धम्की दिने ट्रोलर्सको खोजी गर्न प्रहरीमा उजुरी समेत दिएको भारतीय मिडियाले जनाएको छ । यसबारे अहिलेसम्म करनले भने केहीपनि बताएका छैनन् ।

डिएनएको खबर अनुसार करनका एक आफन्तले करन केही वकिलसँग कुराकानी गरिरहेका छन् । यतिमात्रै होइन करन केही प्राविधिक विशेषज्ञको सम्पर्कमा पनि छन् जसले ती ट्रोलर्सको पत्ता लगाउन सहयोग गर्नेछन् जसले उनका सन्तान र आमालाई क्षती पुर्याउने धम्की दिएका थिए । करनका आफन्तले भने, ‘करन निकै सक्रियताका साथ यसमाथि काम गरिरहेका छन् । टेक टीम ती ट्रोलर्सको खोजी गर्ने कोसिस गरिरहेका छन् जसले करनकी आमा र बच्चाहरुको विषयमा तथानाम भने । टीमले ती अकाउन्ट सक्कली हुन् वा नक्कली भनेर पनि पत्ता लगाउने कोसिस गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्